साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै देउवा, विमानस्थलमा बाजागाजासहित शक्ति प्रदर्शनको तयारी

  • प्रकाशित मिति : २०८३ श्रावण २८, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन् । जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए ।

देउवा थाई एयरवेजको उडानमार्फत आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।



इतर पक्षले देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीति बनाएको हो । कांग्रेसमा अहिले आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालतमा पुगेका बेला देउवाको आगमनपछि अब के होला भन्ने काैतुहल छ ।

देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्नेछन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो समूह पनि स्वागतका लागि विमानस्थल पुग्नेछ ।

सुदूरपश्चिमबाट देउवाको स्वागतका लागि ठूलो संख्याका कार्यकर्ताहरू काठमाडाैं आएका छन् । देउवाले विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम छ ।

त्यसपछि उनलाई नेता–कार्यकर्ताले बाजागाजासहित स्कर्टिङ गरेर लैजाने तयारी छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्वीरसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

स्वदेश फर्किएलगत्तै देउवाले भोलिदेखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।

देउवाको स्वागतको लागि ठूलो संख्यामा कार्यकर्ता भेला हुने भएपछि सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज कँडेलले सुरक्षाको उचित प्रबन्ध मिलाइएको जानकारी दिए ।