ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलको अध्यक्षमा प्रा. जीवनराज शर्मा निर्वाचित

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी)को अध्यक्षमा प्रा. जीवनराज शर्मा निर्वाचित हुनुभएको छ ।

२०२६–३० कार्यकालका लागि नयाँ नेतृत्व चयनअन्तर्गत बिहीबार १३ अगस्ट १० बजेदेखि शुक्रबार १४ अगस्ट साँझ ५ बजेसम्म भएको अनलाइन मतदानमा शर्मा ४१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रा. सारा पार्करले १३ मत प्राप्त गर्नुभयो ।



२९ जुलाईमा जारी निर्वाचनसम्बन्धी सूचनाअनुसार अध्यक्ष, महासचिव, कोषाध्यक्ष र चार कार्यसमिति सदस्यका पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। महासचिव, कोषाध्यक्ष तथा चार कार्यसमिति सदस्यका पदमा एक–एक मात्र उम्मेदवारी परेपछि ती पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्। कुल ७६ मतदातामध्ये ५४ जनाले मतदान गरेका थिए।

त्यस्तै, महासचिवमा उमा प्रधान, कोषाध्यक्षमा फ्रेजर सुग्डेन चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा सार्लोट र्याम्बल, प्रा डेभिड गेल्नर, विनेपालीका सम्पादक नरेश खपाङ्गी मगर र सुष्मा बस्नेत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा. कृष्ण अधिकारीले शुक्रबार जानकारी दिनुभयो । निर्वाचन अधिकृत डा. अधिकारीले नवनिर्वाचित सबै पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई दिनुभएको छ । उहाँले निर्वाचनमा सहभागी सबै सदस्य तथा उम्मेदवारप्रति धन्यवाद व्यक्त गर्दै सदस्यहरूको सक्रिय सहभागिताले बीएनएसीको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको बताउनुभएको छ ।

निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कार्यसमितिप्रति पनि डा. अधिकारीले कृतज्ञता व्यक्त गर्नुभयो ।