नेपाली कांग्रेसको संस्थापनइतर पक्षको काठमाडौंमा जारी राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’मा रूपान्तरण गरिएको छ।
साउन २९ गते पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता र निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा राष्ट्रिय भेलाका रूपमा सुरु भएको कार्यक्रम बन्दसत्रमा पुगेपछि सम्मेलनमा रूपान्तरण गरिएको हो।
पार्टी विधानले ‘राष्ट्रिय भेला’लाई मान्यता नदिने भएकाले सर्वोच्च अदालतले पछिल्लो पटक दिएको निस्सा र बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमलाई विधानअनुसार सम्मेलनमा रूपान्तरण गरिएको नेता मीनबहादुर विश्वकर्माले बताए।
सम्मेलनमा राजनीतिकलगायत विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। कार्यक्रम आजै सम्पन्न हुने बताइएको छ।