लन्डन — विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा पूर्व गोर्खा सैनिक निर्मल ‘निम्सदाइ’ पुर्जाको अन्त्येष्टि आगामी २६ अगस्टमा बेलायतमा हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार अन्त्येष्टि डोर्सेटमा बिहान १० बजे हुनेछ।
पुर्जालाई उनको सैन्य सेवा र योगदानको सम्मान गर्दै सैनिक सम्मानसहित अन्तिम बिदाइ गर्ने तयारी गरिएको छ। अन्त्येष्टिमा सहभागी हुन चाहने नेपाली समुदाय तथा संघ–संस्थाका प्रतिनिधिलाई एनआरएनए यूकेमार्फत २२ अगस्ट राति ११ बजेसम्म नाम दर्ता गर्न आग्रह गरिएको छ।
अन्त्येष्टि स्थलको सुरक्षा, गोपनीयता तथा परिवारको इच्छालाई ध्यानमा राख्दै कार्यक्रमको ठ्याक्कै स्थान र विस्तृत जानकारी दर्ता पुष्टि भएका व्यक्तिलाई मात्र उपलब्ध गराइने जनाइएको छ। पार्किङ सीमित रहेकाले सकेसम्म एउटै सवारीसाधनमा यात्रा गर्नसमेत आग्रह गरिएको छ।
ब्रोड पिकमा हिमपहिरोमा परेर निधन
४३ वर्षीय पुर्जाको पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परी जुलाई ३० मा निधन भएको थियो। उनी १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीसँग ब्रोड पिक आरोहणमा रहेका बेला हिमपहिरोमा परेका थिए।
पुर्जाको पार्थिव शरीर बेलायत ल्याइसकिएको छ। परिवारले बेलायतमै अन्तिम संस्कार गर्ने तयारी गरेको हो।
विश्व पर्वतारोहणमा बनाएका थिए कीर्तिमान
‘निम्सदाइ’ नामले विश्वभर परिचित पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। उनी पूर्व गोर्खा सैनिक हुनुका साथै बेलायती विशेष फौज Special Boat Service (SBS) मा समेत कार्यरत थिए।
उनको निधनले नेपाल, बेलायतस्थित नेपाली समुदाय, गोर्खा परिवार तथा विश्व पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुगेको छ। एनआरएनए यूकेले पुर्जाको योगदानलाई स्मरण गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि सहभागी हुन चाहनेलाई समयमै दर्ता गर्न आग्रह गरेको छ।