सरकारले सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरे पनि सेवा अझै सुरु हुन सकेको छैन।
मन्त्रिपरिषद्को १ सय बुँदे शासकीय सुधार योजनामा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। चालु आर्थिक वर्षमा यसका लागि रु. ४ करोड ५० लाख बजेटसमेत छुट्याइएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार कार्यविधि, समयतालिका, लागत अनुमान र सञ्चालन योजना तयार भइसकेका छन्। साझा यातायातसँग सम्झौता पनि भएको र अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको मन्त्रालयको दाबी छ। तर, राजनीतिक नेतृत्वको अन्तिम स्वीकृति नआएकाले प्रक्रिया रोकिएको बताइएको छ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा कम्तीमा ७ वटा बस सञ्चालन गर्ने योजना छ। तर साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले भने ब्लु बसबारे ठोस निर्णय भइनसकेको र सञ्चालन मोडालिटीमै काम भइरहेको बताएका छन्।