लन्डन । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को आज अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिँदैछ ।
निर्मलको निधन भएको २८ दिनपछि आज अन्तिम संस्कार गरिन लागेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र ‘निम्सदाइ’को परिवारका अनुसार बुधबार बिहान १० बजेपछि बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिलाई एनआरएनए यूकेले अगस्ट २२ शनिबार राति ११ बजेसम्म (बेलायतको समय) नाम दर्ता गरिसक्नुपर्ने समय दिएको थियो ।
मौसम प्रतिकूल, कार्यक्रमस्थलको सीमितता, सुरक्षा र गोपनियता लगायत कारणले धेरै जनालाई अन्त्येष्टि कार्यक्रममा सहभागी गराउन नसकिएको निर्मलका दाइ कमलबहादुर पुर्जाले बताउनुभएको छ ।
४३ वर्षीय पुर्जाको जुलाई ३० मा पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी मृत्यु भएको थियो । उहाँको शव गत आइतबार पाकिस्तानबाट बेलायत ल्याइएको थियो ।
हिमपहिरोमा निम्सदाइसहित ६ नेपाली र चार विदेशीको मृत्यु भएको थियो ।