चीनले भन्यो– नेपालका दुई नदीको दोभानमा ठूलो ताल बनेको छ, तीन दिनभित्र फुट्छ !

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमनजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ र तालबाट पानी बाहिरिन थालेको छ ।



मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ । यसले ताल फुट्ने जोखिम उच्च बनाएको चिनियाँ अधिकारीहरूले बताएका ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । साथै, सम्भावित ताल फुट्दा आउन सक्ने बाढीको अवस्थाबारे कम्प्युटर सिमुलेसन तथा विश्लेषण गरी आपत्कालीन उद्धारका लागि तयारी भइरहेको जनाएको छ ।

चिनियाँ अधिकारीहरूले सम्भावित ताल फुटेमा त्यसबाट उत्पन्न हुने बाढीको जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक पूर्वतयारी र उद्धार क्षमता बढाइरहेका छन्।