नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि बेलायतको लन्डनमा आयोजित ‘च्यारिटी सोलिड्यारिटी वाक’मा करिब ५०० जनाले सहभागिता जनाएका छन्।
हेल्प नेपाल नेटवर्क यूकेको मुख्य आयोजना तथा बुद्ध फाउन्डेसन यूकेको सह–आयोजनामा शनिबार भएको पदयात्रामा नेपालीसँगै बेलायती सांसद, मेयर, काउन्सिलर तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए।
वेलिङस्थित डान्सन पार्कबाट सुरु भएको करिब ५ माइल लामो पदयात्रा ब्ल्याकहिथमा पुगेर समापन भएको थियो। सहभागीलाई पदयात्रा पूरा गर्न करिब साढे दुई घण्टा लागेको थियो।
समापन कार्यक्रममा बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन र मौनधारण गरिएको थियो। हिन्दू तथा बौद्ध धर्मगुरुले पीडितको आत्माको शान्ति र प्रभावित परिवारको शीघ्र पुनःस्थापनाका लागि प्रार्थना गरेका थिए।
कार्यक्रममा सांसद लुई फ्रेन्च, बेक्स्लीकी मेयर लिसा–जेन मुर, ग्रीनविचका मेयर डेभिड गार्डनरलगायतले नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै पीडितप्रति ऐक्यबद्धता जनाए।
आयोजकका अनुसार पदयात्राका क्रममा नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि रकमसमेत संकलन गरिएको छ।