नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टेलिभिजन र ओटीटी प्लेटफर्म छनोट गरेको छ । टेलिभिजनतर्फ हिमालय टिभी र ओटिटीतर्फ नेट टिभीले प्रशारण अधिकार पाएका छन् ।
क्यानका अनुसार नेट टिभीले १८ करोड चार लाख रुपैयाँमा विश्वव्यापी प्रशारण अधिकार प्राप्त गरेको छ । यस्तै हिमालय टेलिभिजनले नेपालभित्रका लागि प्रशारण अधिकार लिन १४ करोड ६४ लाख रुपैयाँ खर्चेको छ । कुल मिलाएर क्यानले ३२ करोड ४८ लाख रुपैयाँ प्राप्त गर्ने भएको हो । यो अघिल्लो सिजनभन्दा उच्च रकम भएको क्यान स्रोत बताउँछ ।
एनपीएलको पहिलो र दोस्रो संस्करण भारतीय टिभी च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण भएको थियो । पहिलो संस्करणमा डिसहोमको युट्यूव च्यानलबाट समेत दर्शकले निशुल्क हेर्न पाएका थिए । दोस्रो संस्करणमा नेपालभित्रको प्रशारण अधिकार कान्तिपुर म्याक्सले पाएको थियो भने स्टारस्पोर्ट्स र डिसहोमको ओटिटीबाट विश्वव्यापी प्रशारण भएको थियो । तेस्रो संस्करण पनि स्टार स्पोर्ट्सबाट प्रशारण हुने अनुमान छ ।
यसैबीच क्यानले एनपीएल ३ को टिकेटिङ अधिकार ‘इ सेवा’ लाई प्रदान गरेको छ । इसेवाले ८५ लाख रुपैयाँ हालेर टिकेटिङ अधिकार प्राप्त गरेको हो । सम्झौता अनुसार टिकेट विक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई जानेछ ।