एसीसी मेन्स प्रिमियर कप २०२६ को ऐतिहासिक फाइनल खेलमा भोलि (शनिबार) नेपाल र यूएईबीच मलेसियाको बायुइमास ओभल मैदानमा भिड्दै छन् । सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनका लागि यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
एशाेसिएट्स क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी बीचको यो खेललाई लिएर नेपाली समर्थकहरू निकै उत्साहित छन् । तर मलेसियाको मौसमका कारण भोलिको खेलमा पानीले प्रभावित गर्नसक्ने जोखिम उच्च देखिएको छ । मौसम पूर्वानुमानअनुसार खेलको समयमा आकाश बदली रहने र भारी वर्षा हुनसक्ने देखिन्छ ।
मलेसियाको मौसम पूर्वानुमान महाशाखा र अन्तर्राष्ट्रिय मौसम एजेन्सीहरूको प्रक्षेपणअनुसार भोलि सेप्टेम्बर १२ मा खेल हुने समयमा पानी पर्ने सम्भावना ५०% देखि ७०% सम्म छ । बायुइमास ओभल मैदान रहेको क्षेत्रमा भोलि बिहानको समयमा आकाश मुख्यत: बदली रहने भए पनि दिउँसो स्थानीय समयानुसार २ बजेपछि (नेपाली समय पौने १२ बजेपछि) गर्जनसहित भारी वर्षा हुने प्रक्षेपण छ ।
यस पटकको प्रतियोगितामा एसीसीले फाइनल खेलका लागि कुनै पनि रिजर्भ डेको व्यवस्था गरेको छैन । यदि वर्षाका कारण खेल केही समय मात्र अवरुद्ध भएमा उपलब्ध समयअनुसार ओभरहरू घटाइनेछ । खेलको नतिजा निकाल्न दुवै टोलीले कम्तीमा २०–२० ओभर ब्याटिङ गरेको हुनुपर्नेछ र विजेताको टुङ्गो डकवर्थ लुइस (डीएलएस) पद्धतिबाट लगाइनेछ ।
यदि ५० ओभरको पूरा खेल सम्भव नभए पनि मौसमले साथ दिएमा संक्षिप्त रूपमा ‘सुपर ओभर’ गराएर विजेताको छनोट गर्न सकिनेछ । तर यदि लगातारको वर्षाका कारण कम्तीमा २०–२० ओभरको खेल वा सुपर ओभरसमेत सम्भव नभई खेल रद्द भएमा नेपालको दुर्भाग्य हुन सक्छ ।
यस्तो अवस्थामा समूह चरणको प्रदर्शनका आधारमा विजेता घोषणा गर्ने परिपाटी छ । यसअनुसार समूह चरणमा आफ्नो समूह ‘बी’ मा सबै खेल जितेर ८ अंकका साथ शीर्ष स्थानमा रहेको यूएई स्वतः विजेता बन्नेछ र एसिया कपका लागि छनोट हुनेछ । नेपालले भने समूह चरणमा एक खेल हारेर ६ अंक मात्रै बटुलेको थियो ।
नेपाललाई सन् २०२७ को एसिया कपमा स्थान पक्का गर्न भोलि मौसम सफा हुनु र मैदानमै यूएईलाई पराजित गर्नु अति आवश्यक रहेको छ । यो खेल नेपाली समय अनुसार बिहान सवा सात बजे सुरु हुने तालिका छ ।