तमु धीं यूकेका चार सदस्यले पूरा गरे बाढीपीडित सहयोगार्थ १०० किमि ‘ट्रेल वाक’

  • प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन । गोर्खा वेलफेयर ट्रस्ट यूकेद्वारा आयोजित १०० किलोमिटरको च्यारिटी ‘ट्रेल वाक–२०२६’मा सहभागी तमु धीं यूकेका चार सदस्यले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गरेका छन्।

सेप्टेम्बर १२ र १३ गते सम्पन्न ‘ट्रेल वाकर–२०२६’मा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, ट्रेल वाकर तथा संयोजक शान्तकुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ र तर्कजंग गुरुङ सहभागी भएका थिए। समस्यामा परेका तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले चार जनाले आयोजित १०० किलोमिटरको च्यारिटी ट्रेल वाक पूरा गरेको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिए । उनले टोलीका सबै सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गर्न टोलीले देखाएको साहस, समर्पण र टोली भावना प्रशंसनीय तथा प्रेरणादायी रहेको बताए।



ट्रेल वाकमा सहभागी तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले नेपालका बाढीपीडितका लागि च्यारिटी रनमा भाग लिने योजना सफल भएको बताए । उनले ५ हजार पाउन्ड संकलन गरेर तमु धीं यूकेको सहयोग अभियानमा दिने आफूहरु योजना रहे पनि लक्ष्यभन्दा बढी ५ हजार ७२९ पाउन्ड जस्ट गिभिङ अनलाइनमार्फत (यो समाचार तयार पार्दासम्म) संकलन भइसकेको छ । उनले दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

सामाजिक तथा मानवीय सेवाका लागि आयोजित यस्ता चुनौतीपूर्ण च्यारिटी अभियानमा नेपाली समुदायका सदस्यहरूको सहभागिताले सहयोग अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।