काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ ।
सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको मूल्य मंगलबारका लागि ८७ हजार रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।
चालु आर्थिक वर्षमा पहिलोपटक सुनको मूल्य ८७ हजार रुपैयाँ प्रतितोलाको आंकडामा झरेको हो ।
चालु आर्थिक वषको शुरुवाती महिनामै नेपाली बजारमा सुनको मूल्यले ‘ऐतिहासिक’ रेकर्ड राखेको थियो । साउन २३ गते छापावाल सुनको मूल्य नेपाल बजारमा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सो दिन तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चालु आर्थिक वर्षका ७ महिनामा सुनको मूल्य ९० हजार माथि नै थियो । तर, फागुन महिनामा पहिलोपटक सुनको मूल्य ९० हजारको आंकडाभन्दा तल झरेको थियो । फागुन ३ गते (बुधबार) तोलामा १ हजार १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा झरेको थियो ।
नेपाली बजारमा सुनको मूल्यले यो वर्षमा पहिलो पटक गत असार ७ गते ९० हजार रुपैयाँको आंकडा पार गरेको थियो । अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेर गत फागुन ७ गते नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
सुनको भाउ घटबढमा अन्तर्राष्ट्रिय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ ।
मंगलबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ५० रुपैयाँले घटेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।