घट्ने भयो पेट्रोल र डिजेलको मूल्य, कहिलेदेखि हुन्छ लागु ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने भएको छ । सरकारले लिदै आएको पूर्वधार कर र भन्सार शुल्कमा प्रतिलिटर ५÷५ रुपैयाँ हटाएर मूल्य घटाउने भएको हो ।

यसका लागि सरकारले मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।



कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ ।

कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिसकेको छ । यो निर्णय लागु हुन एक हप्ता भन्दा धेरै समय लाग्ने छ ।

र, यससम्बन्धमा अर्थ मन्त्रालय गृहकार्यमा रहेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भइरहेका कार्यक्रम स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ छ । कार्यदलको प्रतिवेदन पछि पेट्रोल १७० हुने छ भने डिजेल र मट्टितेल १५३ रुपैयाँमा पाइनेछ ।