चिनियाँलाई पोखरा भ्रमणका लागि निम्तो

  • प्रकाशित मिति : २०८० असार ६, बुधबार
  • नेपाल टेल संवाददाता

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको पनि बताए । उनले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताऐ ।



‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु । चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’

प्रमुख आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिए ।