मुलुकको गरिबी निवारणका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष भूमिका खेलेको संस्थाकी संस्थापक अध्यक्ष भगवती चौधरीले बताएकी छन् । काठमाडौंमा आयाेजित एक कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष चौधरीले मुलुकको गरिबी निवारणमा टेवा पुर्याउनुका साथै महिलाहरूमा वित्तीय पहुँच पुर्याएर उनीहरूलाई स्वावलम्बी समेत बनाएको दाबी गरिन्।
मुलुकको गरिबी, अशिक्षा, स्वास्थ्य सचेतनाका क्षेत्रमा आफूले सक्दो प्रयास गरेको चौधरीको भनाई छ । गरिबी निवारणका लागि लघुवित्तका माध्यमबाट ग्रामीण भेगका महिला दिदिबहिनीहरुलाई वित्तीय क्षेत्रमा जोड्न सफल भएको उनको भनाई छ । लघुवित्तकै कारण ग्रामीण महिला दिदीबहिनीहरुको जीवन सहज भएको उनको दाबी छ ।
‘लघुवित्त कार्यक्रमबाट महिलाहरुले जिविकोपार्जनदेखि परिवारको हरेक सपना पूरा गरेका छन् । छोराछोरीहरूलाई राम्रो स्कुलमा पढाएका छन् । घरजग्गा, सम्पत्ति जोडेका छन् । ग्रामीण अर्थतन्त्रको मेरूदण्ड नै हो लघुवित्त कार्यक्रम ।’ प्रतिनिधि सभा सदस्य समेत रहेकी चौधरीले भनिन् ।
लघुवित्तको मूल उद्देश्य भनेकै गरिबीको अन्त्यसँगै महिलाहरुलाई उद्यमी बनाउनु रहेको चौधरीको भनाई छ । लघुवित्त कार्यक्रममा जोडिएर नै महिलाहरूमा वित्तीय साक्षरता बढेको र उनीहरू उद्यमी बनेर सुखी र खुसी जीवन व्यतित गर्न सफल भएको अध्यक्ष चौधरीको भनाई छ । ‘विना धितो लघुवित्त क्षेत्रले महिला दिदीबहिनीहरुलाई कर्जा प्रवाह गर्दा गरिखान सहज भएको छ, छोराछोरीहरूलाई राम्रा स्कुलमा पढाएका छन् । श्रीमानको कमाइमा मात्र भर पर्नु परेको छैन । साथै, महिला स्वरोजगार भएकैले कतिपय घरेलु हिंसा समेत कम भइरहेका छन् ।’ चौधरीले भनिन् ।
लघुवित्तको महत्व बुझी यसका खराब पक्ष हटाउन सबै पक्ष लाग्नुपर्नेमा चौधरीले जोड दिइन् । पछिल्लो समय लघुवित्तका सन्दर्भमा नकारात्मक विषयहरू बढी आएको र यसलाई नियन्यण गर्न आफनो दायित्व रहेको उनको भनाई छ । चौधरीले लघुवित्तको ऋण तिर्नुपर्दैन भन्ने भ्रम हटाउन आग्रह समेत गरिन् ।
‘लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भ्रममा नपरौ, लघुवित्त संस्थाहरूमा आम सर्वसाधारणले एक एक पैसा बचत गर्नुभएको छ । ऋण नतिर्दा ती सदस्यहरूको बचत पनि जोखिममा पर्दछ ।’ उनले भनिन् । लघुवित्त सबैको साझा संस्था भएकोले यसको सदुपयोग गर्न चौधरीले आग्रह गरेकी छन् ।