यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका यी १० कम्पनी

  • प्रकाशित मिति : २०८२ श्रावण १६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । यो साता सेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेको छ । गत साता २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झर्‍यो ।

यो साता बजारले गत वर्षको उच्चतम रेकर्डलाई तोड्यो । गत मंगलबार सेयर बजार ३००२ अंकमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३ हजार अंक पुगेर झरेको थियो । २०७८ भदौ २ गते बजारले हालसम्मकै उच्चतम अंक ३१९८ को रेकर्ड बनाएको छ ।



यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । आइतबार १८.४४ अंक घटेको बजार सोमबार ७.१० बढ्यो । मंगलबार ३०.७६ अंक बढेर ३००२ अंकमा पुग्यो र गत वर्षको उचाइ जित्यो । बुधबार ४७.९३ र बिहीबार ३१.५० अंक घट्यो ।

यो साता कारोबार रकम उल्लेख्य छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सोमबार १९ अर्ब ३६ करोडको भयो । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भयो । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भयो ।

एक महिनामै १५ प्रतिशत बढेको बजार कति घट्ला ?

मंगलबार ३००२ अंकसम्म पुगेको बजारको अहिलेको घटाइलाई करेक्सनका रुपमा लिइएको छ । असार १५ देखि साउन १३ गतेसम्मको छोटो अवधिमै बजार १५.६८ प्रतिशत अर्थात् ४०७ अंक बढेको थियो ।

असार १५ गते कारोबार खुल्दा २५९५ अंकमा रहेको बजार साउन १३ गते ३००२ अंकमा पुग्यो । छोटो समयमा यति बढेकाले बजारको हालको ‘करेक्सन’ सामान्य भएको जानकार बताउँछन् । गत वर्ष ३ हजार अंकबाटै बजार झरेकाले लगानीकर्तामा अहिले मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ ।

गत वर्ष ३१ साउनमा ३ हजार अंक पुगेपछि सोही वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्‍यो । गत वर्षको गिरावट ठूलै देखिएकाले लगानीकर्ता अहिले पनि त्यस्तै अवस्था आउन सक्ने डरमा छन् ।

तर पोहोरको तुलनामा अहिले धेरै नीतिगत व्यवस्था सुधार भइसकेको छ । गत वर्ष ठूलो सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत थियो, अहिले १०० प्रतिशत छ । व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड थियो, अहिले २५ करोड बनाइएको छ, सेयर कर्जा बढेको छ । यीसहित अन्य नीतिगत व्यवस्था सहज बन्दै गएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ जेठमा ८.१७ प्रतिशत रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको छ । एक वर्षमा अधिक तरलता झन्डै दोब्बर बढेको छ ।