नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गते तय भएको निर्वाचनले नयाँ संसद ल्याउने र अहिलेको संविधानलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै निर्वाचनबारे कुनै अलमल नरहेको स्पष्ट पारेका छन् । थापाले लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’
थापाका अनुसार नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा यही विषयमा पार्टीको धारणा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो, त्यसैले कांग्रेस अहिले कतै अलमलमा छैन ।’
महामन्त्री थापाले पार्टीको महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्ने आवश्यकता पनि दोहोर्याएका छन् । उनका अनुसार अधिवेशनबाट आउने नेतृत्व र नीति नै आगामी निर्वाचन सामना गर्न सक्षम हुनेछ ।
‘अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ,’ थापाले लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ ।’