चालू खातामा २ खर्ब ३७ अर्ब बचत, विदेशी विनिमय सञ्चिति ११.३% ले बढ्यो

  • प्रकाशित मिति : २०८२ कार्तिक ३०, आईतवार
  • नेपाल टेल संवाददाता

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारको चालू खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत १ खर्ब १५ अर्ब ३६ करोड थियो, जसको तुलना गर्दा यो वर्ष चालू खाता दोब्बरभन्दा बढी सुधारिएको देखिन्छ।

अमेरिकी डलरमा हेर्दा पनि चालू खातामा बचत ८६ करोडबाट बढेर १ अर्ब ६९ करोड डलर पुगेको छ। यस अवधिमा कुल पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्बभन्दा धेरै उच्च हो।



समीक्षा अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्ष यस्तो लगानी ४ अर्ब ८१ करोड थियो, जुन यस वर्ष भने घटेको देखिन्छ।

शोधनान्तर पनि यो वर्ष मजबुत देखिएको छ। पहिलो तीन महिनामा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा छ, अघिल्लो वर्ष १ खर्ब ८४ अर्ब ९९ करोड थियो। डलरमा पनि यो बचत १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ।

विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि

२०८२ असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ, जुन २०८२ असार मसान्तको २६ खर्ब ७७ अर्ब ६८ करोडभन्दा ११.३ प्रतिशत बढी हो। अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २१ अर्ब २१ करोड पुगेको छ।

यो सञ्चिति हालको तीन महिनाको आयातलाई आधार मान्दा १९.९ महिनासम्मको वस्तु आयात र १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

२०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (GDP), कुल आयात तथा विस्तृत मुद्रा प्रदायकसँगको अनुपात क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा सरकारले नेपाल राष्ट्र बैंकमा राखेको नगद मौज्दात पनि बढेको छ। असोज मसान्तसम्म सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रहेको छ, जुन असार मसान्तको १ खर्ब ३० अर्ब ७३ करोडभन्दा उल्लेख्य रूपमा बढी हो।