नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले आज नयाँ विजेता पाउँदैछ। पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स फाइनलमा आमनेसामने हुँदैछन्।
त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज दिउँसो साढे ३ बजेदेखि फाइनल खेल सुरु हुनेछ। दुवै टोलीले अहिलेसम्म उपाधि जित्न नसकेको हुँदा आजको खेलबाट एनपीएलले नयाँ च्याम्पियन पाउने निश्चित छ।
सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनलमा पुगेको हो। पहिलो संस्करणमा फाइनल खेले पनि जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ। लिग चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर सुदूरपश्चिम सिधै फाइनल पुगेको हो।
अर्कोतर्फ, लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा पुग्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। सिजनभर उतारचढावपूर्ण प्रदर्शन गरे पनि पछिल्ला खेलहरूमा बलिङमा प्रभावशाली प्रदर्शन गर्दै लुम्बिनी फाइनलमा पुगेको हो।
यो फाइनल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको कप्तानी द्वन्द्वका रूपमा पनि हेरिएको छ। दीपेन्द्र सुदूरपश्चिमको कप्तान छन् भने रोहित लुम्बिनीको नेतृत्वमा छन्। दुवै कप्तान आफ्ना टोलीलाई पहिलोपटक एनपीएलको उपाधि दिलाउने लक्ष्यसहित मैदान उत्रँदैछन्।