नेपाली काग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको टिप्पणी गरेका छन्।
आज पार्टीको वैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सभापति वैठकमा नआए पनि सबै शक्ति अभ्यास गरिरहेको बताए ।
महाधिवेशन नगरिकन कांग्रेस आमनिर्वाचनमा नजाने र जानु नहुने भन्दै यसका लागि सभापति देउवालाई थापाले विशेष आग्रह गरे ।
उनले भने, ‘म सभापतिलाई आग्रह गर्छु, किनकी उहाँले कार्यवाहक दिनुभएको छ । तर यो कार्यवाहक नाम मात्रैको छ । आज वैठकमा आउनुभएको छैन । तर बाँकी रहेको वैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’
थापाले पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उल्लेख गरे ।
‘यही कार्यालयमा आएर सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस, मंसिरभित्र अधिवेशन गर्नुस, म सबै कुराबाट अलग भएर गएँ भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेका थिए । फेरि अपेक्षा गर्छौं कि पार्टीको अधिवेशनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका होइन भने विशेष महाधिवेशनबाट भए पनि पार्टीलाई नयाँ नेतृत्व दिन्छु र त्यो नयाँ नेतृत्वले चुनाव हाँक्छ भन्ने सभापतिको ठाउँबाट भुमिका निर्वाह गर्ने अपेक्षा राख्छु । जे निर्णय गर्नुपर्ने यही वैठकबाट हुन्छ ।’