सुन-चाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

आज फेरि सुन र चाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ । गएको शुक्रबार तोलामा २ हजार १ सय रुपैयाँ बढेको सुनको मूल्य आज थप २ हजार ८ सय रुपैयाँले उक्लिँदै तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

गएको बुधबार र बिहीबार लगातार दुई दिन घटेको सुनको भाउ शुक्रबार र आइतबार पुनः बढेको हो । शुक्रबार सुनको मूल्य तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।



यसअघि पुस १३ गते सुनको मूल्य तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेपछि केही सस्तिएको थियो । आज फेरि सुनले सोही मूल्यमा पुग्दै पुरानै उच्च रेकर्ड बराबरी गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २१० रुपैयाँले वृद्धि भई चाँदीको भाउ आज तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो ।