मैले देउवालाई कुरा बुझाउनै सकिनँ : गगन थापा

  • प्रकाशित मिति : २०८२ पुष ३०, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् ।

देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए ।



‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’

उनले अहिलेको चिन्ता आफूहरूको बारेमा मात्रै नभएको बताए ।

देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।

‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’