नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् । ‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ ’ उनले भनेका छन् ।
विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयम ,जिम्मेवार र एकताबद्ध बन्न आह्वान गरेका छन् ।
‘विश्वास र भरोसा राख्नुहोस्स अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ ’ उनले भनेका छन्, ‘ यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ। ’

उनले कांग्रेसमा कुनै गुट नरहेको स्पष्ट पारेका छन् । गुटगत भागबन्डा हुनेछैन भन्दै जिम्मेवारी फरक भएपनि सदस्य र सभापतिको समान हैसियत भएको बताएका छन् ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको बताएका छन् । आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने गरेको भन्दै अब कांग्रेस बदल्नु पर्ने थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकाङ्क्षा अनुरूप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन ’ उनले भनेका छन्, ‘सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ – यसका लागि तपाईँहरूको थप साथ र विश्वास चाहिएको छ।’