उम्मेदवार छनोट अन्तिम चरणमा, समय र कानुनी प्रक्रियाले दबाब: गगन थापा

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको बताएका छन् । भिडियो सन्देशमार्फत उनले उम्मेदवारहरूको सिफारिस पहिल्यै भइसकेकाले ती सिफारिस भएका व्यक्तिहरूमध्येबाटै उम्मेदवार छनोट गर्नुपर्ने बाध्यता रहेको संकेत गरे ।

कांग्रेसमा आन्तरिक विवाद मिलाएर सिंगाे पार्टी चुनावमा हाेमिने वातावरण बनाउने प्रयास भइरहेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वकाे कार्यसमितिलाई माघ २ गते निर्वाचन आयाेगले मान्यता दिएपछि सर्वाेच्च अदालत पुगेकाे शेरबहादुर देउवा पक्ष संवादमा पनि बसेकाे छ।



आइतबार राति सभापति थापा र देउवा समूहका नेता रमेश लेखकबिच संवाद भएको हो। थापा समूहबाट नेताहरू रमेश धमला, सुवास पाेखरेल तथा बौद्धिक व्यक्तित्व गेजाशर्मा वाग्लेले पार्टी एकता कायम राख्न अनाैपचारिक संवाद गरिरहेका थिए। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग देउवा पक्षबाट नेता पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र नैनसिंह महर पनि नियमित संवादमा थिए।

थापाका अनुसार पार्टीले नयाँ र पुराना दुवै प्रकारका उम्मेदवारबीच सन्तुलन र समावेशिता कायम गर्ने प्रयास गरिरहेको छ । “नयाँ र पुरानोको सन्तुलन मिलाउने र समावेशी बनाउने प्रयास भइरहेको छ । विशेष परिस्थितिमा सिफारिस भइसकेकाले हाम्रो हात केही हदसम्म बाँधिएको छ । समयको पनि ठूलो चाप छ,” उनले भने ।

निर्वाचन आयोग र अदालतसँग सम्बन्धित विषयका कारण उम्मेदवार छनोटमा ढिलाइ भएको उनको भनाइ छ । “पार्टीको जिम्मेवारी सम्हालेपछि लगातार निर्वाचन आयोग धाउनु परेको छ । केही साथीहरूले कानुनी परीक्षण खोजिरहनु भएको छ । उहाँहरूलाई पनि समेटेर अघि बढ्ने प्रयास हिजो साँझसम्म चल्यो,” थापाले बताए ।

उनले पार्टीभित्र एकता कायम गर्न संवाद र समझदारीको प्रयास गर्दा थप चुनौती आएको उल्लेख गर्दै आजै सबै विषय टुंगो लगाइने विश्वास व्यक्त गरे ।

सभापति थापाले उपयुक्त उम्मेदवार छनोट भइरहेको दाबी गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन सबै नेता–कार्यकर्तालाई एकजुट हुन अपिल गरे । “कसैलाई चित्त नबुझ्न सक्छ, तर पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउने उम्मेदवारको पक्षमा सबै एक ढिक्का भएर यो अभियानमा जुट्नुपर्छ,” उनले आग्रह गरे ।