सुनको मूल्यले तोड्यो सबै रेकर्ड: ६ दिनमै २७ हजार उक्लिँदा बजारमा के भइरहेको छ ?

  • प्रकाशित मिति : २०८२ माघ ९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ । बिहीबार तोलामा नौ हजार दुईसय रुपैयाँले बढ्दै सुनको भाउ तीन लाख एक हजार चारसय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।

केही दिनयता सुनको मूल्य असाधारण रूपमा उतार-चढाव भइरहेको छ । बुधबार एकैदिन तोलामा १० हजार चारसय रुपैयाँ बढेर दुई लाख ९५ हजार एकसय पुगेको सुनको भाउ बिहीबार भने २९ सय रुपैयाँ घटेर दुई लाख ९२ हजार दुईसयमा झरेको थियो । तर त्यसको भोलिपल्टै पुनः तीव्र उकालो लाग्दै नयाँ रेकर्ड बनाएको हो ।



पछिल्ला तथ्यांकले सुन बजारमा तीव्र अस्थिरता देखाउँछ । गएको मंगलबार तोलामा दुई हजार सातसय, सोमबार चार हजार दुईसय र आइतबार छ सय रुपैयाँ बढेको सुनको मूल्य पछिल्ला छ दिनमै जम्मा २७ हजार एकसय रुपैयाँले उक्लिसकेको छ । छोटो अवधिमै यति ठूलो वृद्धि हुनु सामान्य बजार प्रवृत्तिभन्दा बाहिरको संकेत मानिन्छ ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्नु, विश्वव्यापी आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव र सुरक्षित लगानीतर्फको आकर्षणले नेपाली बजारमा पनि सुन महँगिँदै गएको हो । डलरको मूल्य, आयात लागत र माग–आपूर्तिको असन्तुलनले समेत मूल्य वृद्धिलाई थप दबाब दिएको देखिन्छ ।

सुनसँगै चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । आज चाँदीको भाउ तोलामा ३२० रुपैयाँले बढेर छ हजार एकसय ९० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

लगातार बढ्दो मूल्यले उपभोक्तालाई गहना खरिदबाट टाढा राखे पनि लगानीकर्ताको चासो भने बढ्दै गएको देखिन्छ । अब प्रश्न उठेको छ-यो वृद्धि स्थायी हो कि केही समयपछि मूल्यमा सुधार आउनेछ ? बजारको आगामी दिशा धेरै हदसम्म अन्तर्राष्ट्रिय आर्थिक अवस्था र भूराजनीतिक घटनाक्रमले तय गर्ने देखिन्छ ।