चुनावमा हुने अन्तर्घात राजनीतिक दलभित्र पटक–पटक दोहोरिने समस्या हो । अझ नेपाली कांग्रेसभित्र यो समस्या तुलनात्मक रूपमा बढी हुने गरेको विगतको उदाहरणले देखाउँछ । २०७९ को निर्वाचनमै आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भनेर पार्टीले दर्जनौँ नेता–कार्यकर्तालाई कारबाहीको दायरामा ल्याएको थियो ।
जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिअनुसार सरकारले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन गर्न लाग्दैगर्दा कांग्रेसमा आन्तरिक एकता चासोको विषय बनेको छ । पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएपछि शेरबहादुर देउवा समूहले आन्तरिक विवादलाई थाँती राखेर चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन भूमिका खेल्नुपर्ने नेता–कार्यकर्ता बताउँछन् ।
तर, पछिल्लो समय काठमाडौँमा देखिएका केही गतिविधिले कांग्रेसभित्र हलचल उत्पन्न हुनका साथै नेतृत्वले यसलाई गम्भीर ढंगले लिएको छ । सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिँदै गर्दा थापा स्वयं उम्मेदवार रहेको क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार अमरेश कुमार सिंहसँग कांग्रेसका केही नेताले हिमचिम बढाएको स्रोतको भनाइ छ ।
हेभीवेट थापा उम्मेदवार बनेपछि सर्लाही–४ मा रास्वपाबाट उम्मेदवार रहेका सिंहले दबाब महसुस गरेका छन् । सोही कारण एक साताअघि काठमाडौँ आएर कांग्रेसका नेताहरूसँग उनले भेट गरेका हुन् ।
स्रोतका अनुसार सुरुमा अमरेशले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डसँग निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा आफूले जसरी पनि निर्वाचन जित्नुपर्ने भन्दै सघाउन प्रचण्डसँग सहयोग मागेको स्रोतको भनाइ छ ।
भेटका क्रममा चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफ्नोतर्फबाट पहल हुनेसमेत अमरेशले आश्वासन दिएको स्रोतको भनाइ छ । तर, यसबारेमा प्रचण्डबाट भने स्पष्ट जबाफ नआएको बताइएको छ ।
त्यसपछि उनले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउलालाई भेट्ने प्रयास गरेका थिए । तर, देउवाले सिधै भेट्न नचाहेपछि उनले कांग्रेसका नेता मोहन बहादुर बस्नेतमार्फत आफ्नो कुरा राखेको बताइएको छ । अमरेशसँग भेटमा कुरा भएअनुसार नै सर्लाही–४ को अवस्था र आवश्यक विषयमा मोहन बस्नेतले देउवालाई ब्रिफिङ गरेका थिए । ब्रिफिङ सुनेपछि देउवाले बस्नेतलाई अमरेशसँग सम्पर्क मै रहन निर्देशन दिएको स्रोतको दाबी छ ।
अमरेशले देउवापछि नेता शेखर कोइरालालाई समेत भेट्न पुगेको खुलेको छ । शेखरलाई भेट्न पुग्दा अमरेशले आफूले प्रचण्डदेखि देउवासम्मलाई भेटेको र सर्लाहीमा चुनाव जितेरै छाड्ने दाबी गरेको बताइएको छ । आफ्नो पक्षमा प्रचण्ड र देउवाबाट समेत ग्रीन सिग्नल आएको दाबीसहित अमरेशले त्यहाँ आफ्नो कुरा राखेको विषय गगनसम्म पुगेको स्रोतको भनाइ छ । त्यसपछि गगनले यसलाई गम्भीर रूपमा लिँदै आफ्नो रणनीति अख्तियार गरेको बताइएको छ ।
सभापति थापाले यस सन्दर्भमा पार्टीलाई सबैखाले सूचना थाहा भएको प्रतिक्रिया दिए । ‘सबै सूचनाहरु पार्टीलाई प्राप्त भएको छ । मेराविरुद्ध भएका सबै चलखेलबारे पार्टी केन्द्र सचेत रहन्छ’, उनले भने ।
काठमाडौँ–४ मै आफू सुरक्षित हुँदाहुँदै पनि नयाँ चुनौती मोल्न र पार्टीलाई गति दिने उद्देश्यका साथ रणनीतिक रूपमा मधेसमा उम्मेदवारी दिन पुगेको गगनले बताउँदै आएका छन् । काठमाडौँ–४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको र यस पटक मधेस र मधेसका सवाल पनि नजिकबाट बुझ्ने प्रतिबद्धताका साथ मधेसमा उम्मेदवार बनेको उनको जिकिर छ । सबैखालको चुनौतीलाई चिर्दै आफूलाई यस पटक सर्लाही–४ का विवेकशील मतदाताले निर्वाचित गराउने थापाको विश्वास छ ।
यता उम्मेदवार सिंहले भने आफूले आफ्नो पार्टीका नेताबाहेक अरु कसैलाई नभेटेको जिकिर गरे । बुधबार प्रतिक्रिया दिँदै उनले आफ्नो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग भेट भएको बताए । त्यसबाहेक अरु पार्टीका नेतासँग भेट नभएको उनको जिकिर छ ।
‘म अरु पार्टीका नेतालाई किन भेट्छु ? आफ्नो पार्टीका सभापति र वरिष्ठ नेतासँग भेट गरेको छु’, उनले भने । उनले आफ्नो चुनावी अभियान सशक्त भइरहेको समेत दाबी गरे ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेश निर्वाचित भएका थिए । अहिले भने चुनावअघि रास्वपामा प्रवेश गरेर उनले टिकट हात पारेका हुन् ।
२०७९ मा सर्लाही–४ मा प्रत्यक्षतर्फ मत विभाजित भएको थियो । कांग्रेसका तत्कालीन उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाउँदा अमरेश २० हजार १७ मतसहित निर्वाचित भएका थिए । अहिले सर्लाही–४ मा कांग्रेस एकढिक्का रहेको तथा स्वयं सभापति नै उम्मेदवार बनेपछि निर्वाचनको माहोल निकै तानिएको कांग्रेसका स्थानीय नेता बताउँछन् । उसो त सो क्षेत्रका मतदाता कुनै एक दलप्रति स्थायी नभएको पनि विगतका चुनावी नतिजाले देखाइसकेको छ ।
सर्लाही–४ मा ३८ जना उम्मेदवार छन् । त्यसमा सबैभन्दा बढी चर्चा थापा र सिंहकै छ । एमालेले अमनिश कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीले रजनिस राय, राप्रपाले प्रदीप कुमार झा, जनमत पार्टीले राकेश कुमार मिश्र, प्रलोपाले रामचरित्र सहनी, उज्यालो नेपाल पार्टीले पीताम्बर सिंह कुसहवालाई उम्मेदवार बनाउँदा अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि मैदानमा खडा भएका हुन् । -ratopati