लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन थालिएको चन्दा अभियानमा साढे ६ हजारभन्दा बढी पाउन्ड संकलन भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतले गो फण्ड मीमार्फत चन्दा संकलन सुरु गरेको हो । शुक्रबार बिहानसम्म ६ हजार ६ सय ८ पाउन्ड संकलन भइसकेको छ । जसमा व्यक्ति तथा संस्था गरी २८४ जनाले सहयोग गरेका छन् ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय मण्डलको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्न चाहेको, परिवारको आर्थिक अवस्था राम्रो नभएको र बेलायतमा मण्डल नजिकका आफन्त पनि कोही नभएकाले क्राउड फण्डिङबाट अर्थ संकलन गरी शव नेपाल पठाउन लागिएको जनाए ।
हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा सोमबार निधन भएको थियो । मण्डललाई श्वास प्रश्वासमा एक्कासी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।