जेन–जी अगुवा रक्षा बमले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेकी छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै बमले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले आयोगको प्रतिवेदनमा पनि संवेदनशील पक्षहरू समेटिएका हुन सक्ने भन्दै संवेदनशीलताको नाममा सत्यलाई जनताबाट टाढा राख्ने परम्परा अब दोहोरिनु नहुने बताइन् । प्रतिवेदन जनताले पढ्न र बुझ्न पाउनुपर्ने कुरा उनले बताएकी छन् ।
‘भदौ २३ र २४ का घटना आफैंमा अत्यन्त संवेदनशील विषय हुन् । यसबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदनमा पनि संवेदनशील पक्षहरू समेटिएका हुन सक्छन् । तर, संवेदनशीलताको नाममा सत्यलाई जनताबाट टाढा राख्ने परम्परा अब दोहोरिनु हुँदैन । यो प्रतिवेदन जनताले पढ्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ’, उनले लेखेकी छन् ।
उनले अन्तरिम सरकारसँग आफ्नो स्पष्ट आग्रह भन्दै कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेकी हुन् ।
उनले भनेकी छन्, ‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण पारदर्शिता पनि हो । त्यसैले अन्तरिम सरकारसँग हाम्रो स्पष्ट आग्रह के छ भने कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गरियोस् । हामी हेरिरहेका छौँ है ।’
जेन-जी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियाे । तर, सरकारले साे प्रतिवेदन सार्वजनिक गरेकाे छैन ।