रेमिट्यान्समा ऐतिहासिक रेकर्ड, ८ महिनामै भित्रियो साढे १४ खर्ब

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • नेपाल टेल संवाददाता

चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा ऐतिहासिक रेकर्ड बनेको छ । आर्थिक वर्षको ८ महिनामै १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।



२०८२ फागुन महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षभित्र करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिँदा यो वर्ष ८ महिनामै सो लक्ष्य भेटेको हो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१५९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।