सातामै लगानीकर्ताले गुमाए साढे ४ खर्ब, कहाँ थामिएला बजारको पहिरो ?

  • प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

यसले बजारमा मनोवैज्ञानिक असर परेको छ । सम्पत्ति शुद्धीकरणको मामलामा केही व्यवसायीमाथि धरपकड हुँदा अरूसमेत त्रसित बनेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापति बताउँछन् ।

‘ठूला व्यवसायीले ठूलै परिमाणको सेयर होल्ड गर्छन्, अहिलेको अवस्थामा उनीहरूले नै बिक्री बढाएका हुन सक्छन्,’ उनले भने ।



केही व्यवसायी पक्राउ परेपछि बजारमा ठूलो अफवाह फैलाइएको र यसले लगानीकर्ताको मनोबल कमजोर बनेको नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

‘सम्पत्ति शुद्धीकरणको मामलामा सोधपुछका लागि केही व्यवसायी पक्राउ पर्दैमा बजार यसरी झर्नुपर्ने होइन,’ उनले भने, ‘सेयर बजारमा बैंकिङ प्रणालीबाटै पैसा आउने हो, नगदमा कारोबार हुँदैन ।’

व्यवसायीको धरपकड बाहेक बजार घट्ने अरू आधार अहिले नरहेको ढकाल बताउँछन् । ‘ब्याजदर अति न्यून छ, लगानीका अन्य विकल्प छैनन्, नीतिगत सुधार धमाधम भइरहेको छ, वैशाखदेखि मार्जिन कारोबार सुरु हुँदैछ,’ ढकालले भने, ‘मुद्रा सञ्चितिदेखि अन्य तथ्यांक राम्रा छन् ।’

बजार छोटो समयमै उच्च दरले घटेकाले छोटो समयमै उही गतिमा रिकभर पनि हुन सक्ने उनको भनाइ छ ।

केही लगानीकर्ता आन्दोलनमा

सरकारले पूँजीबजारमा आवश्यक सुधारका काम पनि नगर्ने र सर्वसाधारणलाई आश्वस्त पार्ने काम पनि नगरेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताको एउटा संगठनले आज सिंहदरबारको दक्षिण गेटमा केही बेर प्रदर्शन गरेको थियो ।

‘कसैले अवैध सम्पत्ति आर्जन गरेको वा अन्य वित्तीय गडबडी गरेको भए कारबाही हुनैपर्छ,’ आन्दोलनमा रहेका लगानीकर्ता तिलक कोइरालाले भने, ‘तर, बजार एकोहोरो झरिरहँदा केही पनि नबोल्ने, पूँजीबजार सुधारका काम पनि नगर्ने हुनु भएन ।’

आफूहरूको माग पूँजीबजार सुधारका कामलाई तीव्रता दिन सम्बद्ध पक्षलाई दबाब दिने मात्रै रहेको उनले बताए ।

‘सेयर बजारकै प्रविधि तथा प्रणाली सुधारका लागि गर्नुपर्ने थुप्रै काम छन्, त्यतातिर सरकारको ध्यान जाओस्, कमसेकम बजारका लागि काम भइरहेको सन्देश आओस् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने ।