सिनेस्टार विजयले तमिलनाडुमा ल्याइदिए राजनीतिक भूकम्प

  • प्रकाशित मिति : २०८३ बैशाख २२, मंगलवार
  • नेपाल टेल संवाददाता

दक्षिण भारतीय सिनेमामा अजबगजबका दृश्य देखिन्छन् । नायक यसरी आउँछन् कि उनले केही सेकेन्डमै सब उलटपुटल गरिदिन्छन् । के वास्तविक राजनीतिमा यस्तो सम्भव छ ?

लगभग फिल्मी शैलीमै भारतीय सुपरस्टार जोसेफ विजयले तमिलनाडुको विधानसभा चुनावमा राजनीतिक भूकम्प नै ल्याइदिएका छन् । उनले दशकौँदेखि चलिआएको परम्परागत राजनीतिलाई जरैदेखि हल्लाएर ऐतिहासिक जित नजिक छन् ।



सोमबारबाट सुरु भएको मतगणनाको ताजा रुझान र नतिजाहरूले विजयलाई अब सिनेमाको पर्दामा मात्र सीमित नभई तमिलनाडुको राजनीतिको नयाँ हिरो बनेको प्रमाणित गरेका छन्। उनको दुई वर्ष पुरानो पार्टी ‘तमिलगा वेट्री कजगम’ (टीभीके) ले पहिलो पटक विधानसभा चुनाव लड्दै तमिलनाडुमा मुख्यमन्त्री एम.के. स्टालिनको सत्तासीन पार्टी डीएमके र प्रमुख प्रतिपक्षी एआईएडीएमकेलाई नराम्ररी पछाडि छाड्दै आफूलाई राज्यको सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित गरेको छ।

योसँगै फ्यानहरूले मायाले ‘थलापति’ अर्थात् सेनापति भनेर बोलाउने जोसेफ विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।

टीभीकेको अभूतपूर्व आँधी

अप्रिल २३ मा एकै चरणमा सम्पन्न भएको तमिलनाडु विधानसभा चुनावमा ८५ प्रतिशतभन्दा बढीको ऐतिहासिक मतदान भएको थियो । मे ४ को बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा टीभीकेले लगातार अग्रता कायम राखिरहेको छ। यो समाचार तयार पार्दासम्म, निर्वाचन आयोग र विभिन्न मिडिया रिपोर्टका अनुसार, कुल २३४ सिटमध्ये सरकार बनाउन ११८ सिट आवश्यक पर्नेमा टीभीके १०७ देखि १०९ सिटसम्ममा अगाडि देखिएको छ।

यसको तुलनामा सत्ताधारी डीएमके तेस्रो स्थानमा खस्किने संकेत गर्दै मात्र ६४ सिट आसपास सीमित भएको छ भने विपक्षी एमआईएडीएमके ५२ सिट आसपास अग्रता कायम गरिरहेको छ । अन्य उम्मेदवारहरूले ११ सिटमा अग्रता कायम गरिरहेका छन् ।

चुनावी नतिजाको प्रारम्भिक रुझानले तमिलनाडुमा डीएमके र एमआईएडीएमकेको द्विपक्षीय वर्चस्वलाई तोड्दै टीभीकेलाई एक शक्तिशाली तेस्रो विकल्पको रूपमा उभ्याएको छ।

हेभीवेट नेताहरूलाई झट्का

यस चुनावमा सबैभन्दा अनौठो नतिजा कोलाथुरले दिएको छ। त्यहाँबाट पुनः चुनाव लडिरहेका वर्तमान मुख्यमन्त्री तथा डीएमकेका शीर्ष नेता एम.के. स्टालिन आफ्नै सिटमा पछाडि परेका छन्। चौथो चरणको मतगणनासम्म स्टालिनभन्दा टीभीकेका नवप्रवेशी उम्मेदवार भि.एस. बाबु अगाडि छन्।

त्यसैगरी, मदुरै साउथ सिटमा टीभीकेका उम्मेदवार गोपीसन फराकिलो अग्रतामा छन्। उनलाई डीएमकेका भूमिनाथन, भाजपाका राम श्रीनिवासन र एनटिकेकी सुमती लगायतले पछ्याइरहेका छन् । तिरुपुर साउथमा पनि टीभीकेका एस. बालामुरुगन अगाडि छन् भने डीएमकेका एन. दिनेशकुमार पछाडि परेका छन्।

स्वयं पार्टी अध्यक्ष विजय पेराम्बुर सिटबाट चुनाव लडिरहेका छन् र उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी आर.डी. शेखरलाई फराकिलो मतले पछाडि पार्दै शानदार अग्रता कायम गरेका छन्।

सामान्यतया सत्ताको साँचो बोकेको मानिने ४६ वटा अनुसूचित जातिका लागि आरक्षित सिटहरूमा पनि टीभीकेको प्रभाव निर्णायक सावित भएको विश्लेषण भइरहेको छ।

को हुन् विजय ?

२२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयको जीवन कुनै फिल्मी कथाभन्दा कम छैन। उनको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको पारिवारिक पृष्ठभूमि पूर्ण रूपमा कला र सिनेमासँग जोडिएको थियो। उनका बुबा एस.ए. चन्द्रशेखर तमिल सिनेमाका चर्चित निर्देशक थिए भने आमा शोभा एक कुशल गायिका थिइन्।

फिल्मी माहोलमा हुर्किएका विजयले निकै सानो उमेरदेखि नै अभिनय यात्रा सुरु गरेका थिए। बुबाले उनलाई ‘वेट्री’ फिल्ममा बाल कलाकारको रूपमा अवसर दिएका थिए। बाल्यकालमै उनले आफ्नो भविष्य सिनेमामै रहेको संकेत गरिसकेका थिए ।

कलेजमा उनले भिजुअल मिडियाको अध्ययन सुरु गरेका थिए, तर अभिनयको हुटहुटीले गर्दा उनले बीचमै पढाइ छाडिदिए।

पछि, आमा शोभाले एउटा स्क्रिप्ट लेखिन् र बुबा एस.ए. चन्द्रशेखरले त्यसमा फिल्म बनाए। सन् १९९२ मा रिलिज भएको सोही फिल्म ‘नालैया थीरपु’ बाट विजयले मुख्य नायकका रूपमा डेब्यु गरे। यद्यपि यो फिल्म बक्स अफिसमा अपेक्षा गरेअनुरूप सफल हुन सकेन, तर यसले विजयको अभिनय करियरको बलियो जग भने बसाल्यो।

कसरी बनाए थलापतिको पहिचान ?

विजयको सुरुवाती करियर ‘फर्मुला फिल्म’हरूमा आधारित थियो, जसमा एक्सन र रोमान्टिक गीतहरूको भरपुर प्रयोग हुन्थ्यो। तर समयसँगै उनले आफ्नो छवि बदले। कमेडी, एक्सन र सामाजिक विषयवस्तुमा आधारित फिल्महरू खेल्दै उनले आफूलाई एक साधारण हिरोबाट ‘थलापति’ (सेनापति) को रूपमा स्थापित गरे।

‘गिल्ली’ जस्तो सुपरहिट फिल्मले उनलाई ‘मास हिरो’ को परिचय दियो र साना बालबालिका समेत उनको फ्यान बने। ‘कथी’ ले उनको अभिनयलाई सामाजिक र राजनीतिक सन्देशसँग जोड्यो भने ‘थेरी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता फिल्महरूले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरे।

अभिनयका साथसाथै उनी दक्षिण भारतीय सिनेमाकै उत्कृष्ट डान्सरमध्ये एक मानिन्छन्। हिन्दी भाषी क्षेत्रहरूमा पनि उनी उत्तिकै लोकप्रिय छन्।

फ्यानसँग विवाह

विजयको व्यक्तिगत जीवनमा एउटा महत्त्वपूर्ण मोड तब आयो, जब लन्डनमा हुर्किएकी संगिता उनका फिल्महरू हेरेर उनको फ्यान बनिन्। बिस्तारै उनीहरूबीच मित्रता भयो र यो सम्बन्ध प्रेममा परिणत भयो। २५ अगस्ट १९९९ मा परिवारको सहमतिमा विजयले संगितासँग विवाह गरे।

विवाहपछि संगिता उनको व्यक्तिगत ‘कस्ट्युम डिजाइनर’ बनिन्। भनिन्छ, आज पनि विजय सार्वजनिक कार्यक्रम वा सुटिङमा तिनै कपडाहरू लगाउँछन्, जुन उनकी पत्नीले छनोट गरेर दिन्छिन्।

उनका बुबा एस.ए. चन्द्रशेखरले यसअघि नै ‘अल इन्डिया थलापति विजय मक्कल इयक्कम’ नामको राजनीतिक पार्टी बनाउने प्रयास गरेका थिए र विजयको फ्यान क्लबलाई त्यसैअन्तर्गत दर्ता गर्न खोजेका थिए।

यसलाई लिएर बाबु-छोराबीच गम्भीर मतभेद भयो। विजयले आफ्ना माता-पितासहित ११ जना विरुद्ध मुद्दा दर्ता गर्दै आफ्नो नामको प्रयोग कुनै पनि चुनावी गतिविधि वा भीड जम्मा गर्नका लागि नगर्न माग गरे।

विजयले स्पष्ट रूपमा विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘म मेरा प्रशंसक र जनतालाई बताउन चाहन्छु – मेरो बुबाको राजनीतिक पार्टी र मेरोबीच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध छैन।’

अनि सिनेमा छाडे …

फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा राजनीतिमा कदम राख्दै आफ्नो पार्टी ‘तमिलगा वेट्री कझगम’ (टीभीके) को घोषणा गरे। उनले सन् २०२४ को लोकसभा (संसद्) चुनाव नलड्ने र कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने, तर आफ्नो सम्पूर्ण ध्यान सन् २०२६ को विधानसभा चुनावमा केन्द्रित गर्ने स्पष्ट पारेका थिए।

यसै घोषणामार्फत उनले राजनीति र समाजसेवामा पूर्ण रूपले समर्पित हुनका लागि आफ्नो अभिनय करियर र कमाइ दुवैलाई पछाडि छाड्दै सिनेमाबाट सन्न्यास लिने कुरा पनि सार्वजनिक गरे। सेप्टेम्बर २०२४ मा प्रोडक्सन हाउस केभीएनले आधिकारिक रूपमा घोषणा गर्‍यो – फिल्म ‘थलापति ६९’ विजयको अभिनय करियरको अन्तिम फिल्म हुनेछ।

कस्तो पार्टी हो टीभीके ?

अक्टोबर २७, २०२४ मा तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा टीभीकेको पहिलो जनसभा आयोजना भयो, जहाँ लाखौँको भीड उर्लियो। उक्त मञ्चबाट विजयले नागरिकलाई फुटाउने र राज गर्ने रणनीतिमा काम गर्ने पार्टीहरूलाई कडा प्रहार गरे।

विजयले त्यस्ता शक्तिहरू वैचारिक रूपमा आफ्नो पार्टीको दुस्मन भएको घोषणा गरे। उनले नाम नलिईकन सत्ताधारी डीएमकेतर्फ लक्षित गर्दै ‘द्रविड मोडलको नाममा धोकाधडी गर्ने र एउटा परिवारले राज्यलाई लुट्ने’ काम गरिरहेको आरोप लगाए।

आफ्नो वैचारिक लाइन स्पष्ट पार्दै विजयले भनेका थिए, ‘हामी द्रविड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई अलग गर्नेछैनौँ। यी दुवै यस माटोका दुई आँखा हुन्। हामीले आफूलाई कुनै एउटा विशेष पहिचानमा मात्र सीमित राख्नुहुँदैन।’

टीभीके धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तमा आधारित हुने उनले बताए। विजयले आफ्नो पार्टी समाज सुधारक ‘पेरियार’ ले देखाएको महिला सशक्तीकरण र सामाजिक न्यायको बाटोमा हिँड्ने, तर पेरियारको नास्तिकता (ईश्वर नमान्ने) विचारलाई भने स्वीकार नगर्ने स्पष्ट पारे।

त्यसैगरी, टीभीकेले राज्यमा दुई-भाषा नीतिलाई समर्थन गर्ने र सरकारी कामकाज तमिल र अङ्ग्रेजी दुवै भाषामा हुनुपर्ने कुरामा जोड दिएको छ। साथै, उनको पार्टीले जातिगत जनगणनालाई पनि समर्थन गर्दछ।

करुर र्‍यालीमा भएको दुःखद भगदौड

विजयको राजनीतिक यात्रामा एउटा दु:खद घटना पनि जोडिएको छ। गत वर्ष सेप्टेम्बरमा तमिलनाडुको करुरमा टीभीकेको र्‍यालीका क्रममा अचानक भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको थियो।

यस घटनाले विजयलाई गहिरो चोट पुर्‍यायो। उनले सामाजिक सञ्जालमार्फत दुःख र स्तब्धता व्यक्त गर्दै मृतकका परिवारलाई जनही २० लाख र घाइतेहरूलाई २-२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए।

पछुतोमा छ कांग्रेस

तमिलनाडुको चुनाव परिणामको विश्लेषण गर्दै कंग्रेसका वरिष्ठ नेता प्रवीन चक्रवर्तीले युट्युब च्यानल ‘डिकोडर’ मा बोल्दै विजयको पार्टी टीभीकेसँग गठबन्धन गर्न नसक्नु कंग्रेसको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

उनले भनेका छन्, ‘म यसलाई कंग्रेस पार्टीको लागि गुमेको एउटा विशाल अवसरको रूपमा हेर्छु। यदि कंग्रेसले टीभीकेसँग गठबन्धन गरेको भए, हामीले दुई-तिहाइ बहुमत जित्ने थियौँ र दक्षिण भारतमा हाम्रो दबदबा हुने थियो।’

यस वर्षको मार्च महिनामा प्रवीन चक्रवर्तीले विजयलाई भेटेर राजनीति र टीभीके-कंग्रेस गठबन्धनको सम्भावनाबारे छलफल गरेका थिए। चक्रवर्तीका अनुसार टीभीके गठबन्धन गर्न सर्वसम्मत रूपमा तयार थियो। तर, कंग्रेसभित्रका मतभेदले गर्दा यो सम्भव भएन

। चक्रवर्तीले खुलासा गरेअनुसार राहुल गान्धी यो गठबन्धनको पक्षमा खुला भए पनि पी. चिदम्बरम जस्ता नेताहरू पुरानै गठबन्धन (डीएमकेसँगको) लाई निरन्तरता दिनुपर्ने अडानमा थिए।

कसले के भने ?

टीभीकेका राष्ट्रिय प्रवक्ता फेलिक्स जेराल्डले प्रारम्भिक रुझानहरूलाई उद्धृत गर्दै पार्टीले स्पष्ट बहुमतसहित सरकार बनाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताएका छन्।

पुडुचेरीका मुख्यमन्त्री एन. रंगास्वामीले पनि टीभीके र विजयलाई बधाई दिँदै उनले तमिलनाडुको राजनीतिमा ठूलो प्रभाव छाडेको बताएका छन्।

यद्यपि तमिलनाडुको चुनावी इतिहासमा नयाँ पार्टीहरूको प्रवेशले मिश्रित परिणाम दिने गरेको थियो। कतिपयले ठूलो सफलता पाए भने कतिपयले कुनै प्रभाव छाड्न सकेनन्। तर विजय र उनको पार्टी टीभीकेको आगमनले ‘द्रविड राजनीति’ को दुई ध्रुवीय एकाधिकारलाई नराम्ररी तोडेको छ।

द्रविड मोडेल तमिलनाडु राज्यमा विशेषगरी सत्ताधारी पार्टी डीएमके र त्यहाँका वर्तमान मुख्यमन्त्री एम.के. स्टालिनले आफ्नो सरकारको काम गर्ने शैली, नीति र वैचारिक आधारलाई चिनाउन प्रयोग गर्ने एउटा राजनीतिक र शासकीय अवधारणा हो।

यसले समाजका सबै वर्ग (विशेषगरी पिछडिएका र दलित समुदाय) लाई शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसर दिने र सँगसँगै आर्थिक विकास पनि गर्ने नीति अर्थात् सामाजिक न्याय र समावेशी विकासको अवधारणा पछ्याउँछ ।

डीएमके पार्टीले आफूलाई यही द्रविड मोडलको असली हकदार र रक्षक मान्दै यसलाई आफ्नो प्रमुख राजनीतिक नारा बनाएको छ।

तर, विजयले आफ्नो भाषणमा डीएमकेमाथि कडा प्रहार गर्दै भन्न खोजेका छन्- बाहिरबाट हेर्दा उनीहरू ‘सामाजिक न्याय र समावेशी विकासको द्रविड मोडलको आदर्श कुरा गर्छन्, तर भित्रभित्रै यही मोडलको नाम बेचेर एउटै परिवार (करुणानिधि-स्टालिन परिवार) ले सत्ता कब्जा गर्ने, भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी लुट्ने काम गरिरहेको छ।

अर्थात्, विजयको आरोपमा ‘द्रविड मोडल’ डीएमकेका लागि जनतालाई भ्रममा राख्ने र आफ्नो पारिवारिक शासन जोगाउने एउटा वैचारिक आवरण (ढोँग) मात्र बनेको छ।

जे होस्, ‘थलापति’ ६९ औँ फिल्मबाट सिनेमाको यात्रा टुङ्ग्याएर निस्किएका विजय अब तमिलनाडुको राजनीतिको वास्तविक मुख्यमन्त्री बन्ने दिशामा अग्रसर छन्।I’m