‘सिंहदरवारबाट बालेन्द्र लौरो लगाउँछन्, बुढानिलकण्ठबाट रवि मल्हमपट्टी’ रास्वपाभित्र दोहोरो शक्ति संघर्ष !

  • प्रकाशित मिति : २०८३ बैशाख २२, मंगलवार
  • नेपाल टेल संवाददाता

दुईतिहाइ नजिक रहेर सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दुई शक्ति केन्द्र देखिएका छन् । एउटा सिंहदरवार अनि अर्को बुढानिलकण्ठ । हो, सिंहदरवारमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीकारुपमा विराजमान छन् । बुढानिलकण्ठमा भने रास्वपाका शक्तिशाली नेता सभापति रवि लामिछाने । यता, सिंहदरवारबाट बालेन्द्र शाहले लौरो लगाउँछन् अनि बुढानिलकण्ठका रवि लामिछानेले मल्हम पट्टी लगाए जस्तै गर्छन् ।

कुरा आइतबारकै हो, पार्टी मुख्यालय बनस्थलीमा सचिवालय बैठक राखेर लामिछानेले सुकुम्बासी बाहेक जग्गा मिचेको हकमा भूमिहीन सुकुमवासीको हकमा शक्तिशाली प्राधिकरण वा आयोग बनाएर त्यसैका आधारमा अघि बढ्न सरकारलाई सुझाव दिने निर्णय गराए । अनि हटाइएका लाई घरबारविहीन बन्न नदिने बताउँदै जनतालाई आतंकित पार्ने काम भएकोसम्म भनेका छन् । तर, संघीय सरकारलाई जोगाए जस्तो गरेर स्थानीय सरकारहरुले भत्काएको आरोप लगाइदिएका छन् ।



रविको यो भनाइले एकतिर दो निशानको काम गरेको छ । देखिंदा स्थानीय सरकारलाई पो भनेको भन्ने तर, निशाना चाँही संघीय सरकारलाई नै लगाएका छन् । किनभने जिल्ला प्रशासनका कार्यालयमार्फत गृहमन्त्रालयले सुकुम्बासी हटाउने र अतिक्रमित जग्गामा बनेका संरचना भत्काउने काम भएको छ । यहाँ नजिक रास्वपा र सरकारबीचको तारतम्य देखिदैन । सायद उनकै टिप्पणीपछि हुनुपर्छ, प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ फर्काएका छन् । उनले सामाजिक सञ्जालमार्फत संघीय सरकारले नै कानुन बमोजिम काम गरेको मात्र भनेका छैनन्, नागरिकहरुमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रुपमा त्रास फैलाउने प्रयास भइरहेकोले यसलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।

हिजो-अस्ति नबोलि आजमात्र बालेनले किन बोले ? पक्कै पार्टी सभापति लामिछानेलाई ‘काउन्टर’ दिएको प्रष्ट देखिन्छ । उता, पार्टीले स्थानीय तहलाई भनेजस्तो गर्ने यता संघीय सरकारले नै गरेको भन्ने दुई कुरा आफैंमा बेमेल देखिन्छ । यो एउटा उदाहरण हो, अब अर्को उदाहरण हेरौं- सम्पत्ति शुद्धिकरण या आर्थिक चलखेलका नाममा व्यापारी पक्राउ सुरु भयो ।

उद्योगी शेखर गोल्छा समेत पक्राउ परे । अनि व्यापारीहरुमा त्रास उत्पन्न भयो । सरकारले व्यापारीमाथि चरणबद्ध प्रहार गरेको कुरा मानेका उद्योगीहरु रविकै शरणमा पुगे । हिमालय होटलमा साक्षात्कारमा पुगेका रविले व्यापारीलाई ढुक्क भएर काम गर्न आश्वासन दिए ।

बालेन त्रास पैदा गर्दै जाने रवि मिलाउँदै जाने हो, या बुढानिलकण्ठमा बसेर शक्ति अभ्यास गर्न थालेका हुन् ? प्रश्न उठ्न थालेको छ । अमेरिकी संसदको एउटा निकायले जारी गरेको प्रतिवेदनमा उनीहरुको एकता क्षणिक हुने निश्कर्ष नै निकालेको थियो । भारतीयहरुले पनि यो सहकार्य धेरै टिक्न नसक्ने अड्कलबाजी गरेका छन् । कतिसम्म भने प्रधानमन्त्री कुटनीतिक भेटघाट नगर्ने तर कुटनीतिक प्रतिनिधिहरु रवि भेट्न बुढानिलकण्ठ पुग्ने ! यो अर्को शक्ति अभ्यास होइन र ? दुईतिहाइ नजिकको यो सरकार कतै दुर्घटनामा पर्ने त होइन ? अहिले नै प्रश्न गर्न त हतार होला । तर, लक्ष्यणहरु निको देखिदैनन् ।