नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामाथि शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै घरेलु सिरिजमा आफ्नो उत्कृष्ट लय कायम राखेको हो। यसअघि भएको भेटमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो।
नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो। अमेरिकी टोलीका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए। यस्तै नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६ तथा सैतेजा मुक्कमल्लाले २२ रन जोडे। अन्य ब्याट्सम्यान भने नेपाली बलिङसामु टिक्न सकेनन्।
अमेरिकाको इनिङ्स ध्वस्त पार्ने क्रममा Sandeep Lamichhane ले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुलशन झाले दुई–दुई विकेट हात पारे भने सोमपाल कामीले एक विकेट लिए। नेपाली बलरहरूले सुरुदेखि नै दबाब बनाएपछि अमेरिकाले कुनै समय पनि खेलमा पकड बनाउन सकेन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार गरेको थियो। यो स्कोर कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालको अहिलेसम्मकै सर्वाधिक ठूलो स्कोर बनेको छ। यसअघि नेपालले ओमानविरुद्ध यही मैदानमा ३१० रन बनाएको थियो।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा यो दोस्रो ठूलो स्कोरसमेत हो। नेपालले सन् २०२५ जनवरी ८ मा स्कटल्याण्डविरुद्ध डुन्डीमा ३२१ रन बनाएको थियो।
नेपालको ब्याटिङमा डा. ईशान पाण्डे चम्किए। उनले ८४ रनको आकर्षक इनिङ्स खेल्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए। दीपेन्द्र सिंह ऐरीले ५९ रन बनाए भने कप्तान रोहित पौडेलले ४६ रनको योगदान दिए। आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन जोडे। अन्त्यतिर गुलशन झाले १५ रन थपे। नेपालका तीन ब्याट्सम्यान रनआउट हुनु टोलीका लागि केही निराशाजनक पक्ष रह्यो।
अमेरिकाका लागि शुभम रन्जानेले तीन विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट हात पारे। तर नेपाली ब्याट्सम्यानले लगातार साझेदारी गर्दै अमेरिकामाथि दबाब बनाइरहे।
यस जितसँगै नेपालले २८ खेलबाट ११ जित र १५ हारसहित २४ अंक बनाएको छ। नेपाल अंकतालिकाको पाँचौं स्थानमा कायम छ। अमेरिका भने समान खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ। समान अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ।
घरेलु मैदानमा नेपालले यस पटकको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्यो। यूएई, ओमान र नेपाल सम्मिलित सिरिजमा नेपालले ४ खेलमध्ये ३ खेल जितेको थियो। त्यसपछि अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा पनि नेपालले लगातार प्रभावशाली प्रदर्शन गर्दै समर्थकलाई उत्साहित बनाएको छ। घरेलु मैदानमा खेलेका ८ खेलमध्ये ६ खेल जित्नु नेपाली टोलीका लागि ठूलो उपलब्धि मानिएको छ।