लन्डनमा २१३औँ भानु जयन्ती, नेपाली भाषा–साहित्य संरक्षणमा जोड

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन, बेलायतस्थित नेपाली साहित्य विकास परिषद् यूकेले शनिबार लन्डनमा २१३औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रम तथा कवि गोष्ठीसहित मनाएको छ।

वेष्ट लन्डनस्थित एसबीआई कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार हरिसिंह थापाले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको जागरण तथा विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै विदेशमा नेपाली भाषा–साहित्यको संरक्षणमा परिषद्ले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए।



परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले परिषद्ले सन् १९९५ देखि निरन्तर भानु जयन्ती मनाउँदै आएको उल्लेख गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमार्फत नेपाली पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहअध्यक्ष ध्रुव केसी, सल्लाहकार मदन थापा, महासचिव डा. सुधा श्रेष्ठलगायत वक्ताले भानुभक्तको साहित्यिक योगदान, सामाजिक चेतना र विदेशमा नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धनमा परिषद्को भूमिकाबारे धारणा राखेका थिए।

भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पणबाट सुरु भएको कार्यक्रममा रामायणका श्लोक वाचन, शुभकामना मन्तव्य तथा कवि गोष्ठी सम्पन्न भएको थियो। कवि गोष्ठीमा हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, मदन थापा र कोमल मल्ललगायतले कविता वाचन गरेका थिए।

कार्यक्रमको समापनमा परिषद्ले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वप्रति आभार व्यक्त गरेको थियो।