सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन बजार परिसूचक नेप्से ३०.६० अंक घटेसँगै २५७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो ।
बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो ।
आज दिनभरजसो बजार रातो रह्यो । २२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।
बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५, अन्य ०.८५ तथा व्यापार २.३० प्रतिशत घटे ।
सामुदायिक लघुवित्तको मूल्य ५.३७ तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको मूल्य ११.२८ प्रतिशत घट्यो ।
बुद्धभूमि हाइड्रोपावरको ७.४७, दिव्यश्वरी हाइड्रोपावरको ६.५१, हिमस्टार ऊर्जाको ६.४२ तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार हुनेमा ऋणपत्र अगाडि रहे ।