आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक (बिल) लिने-दिने संस्कृतिको विकास गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरू गरेको छ।
व्यापारिक कारोबारलाई पारदर्शी बनाउन, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न र उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले विभागले यो उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो।
विभागका अनुसार स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गरी नगद भुक्तानीमार्फत बिल लिएका सर्वसाधारण उपभोक्ताहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन्। योग्य उपभोक्ताहरूले साउन १ गतेदेखि पाएका खरिद बीजकको विवरण विभागको आधिकारिक पोर्टलमार्फत दर्ता गराउनुपर्नेछ।
उपहार कार्यक्रममा सहभागी हुनका लागि उपभोक्ताहरूले https://prize.ird.gov.np लिंकमा गई आफ्नो खरिद बीजक सम्बन्धी विवरण तोकिएको समयभित्रै प्रविष्ट गराउनुपर्नेछ।
नगद भुक्तानी गर्नेहरूले प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्ने भए तापनि भुक्तानी सेवा प्रदायकमार्फत विद्युतीय भुक्तानी (क्यूआर कोड, मोबाइल बैंकिङ, कार्ड आदि) गरी साउन १ गतेदेखि गरिएको खरिद भने यस कार्यक्रममा स्वतः समावेश हुनेछ। यस्ता डिजिटल भुक्तानीका खरिद बिलको विवरण छुट्टै प्रविष्ट गरिरहनु नपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ।