बेलायतको कामदार भिसामा नयाँ व्यवस्था : २८ पेशालाई १८ महिनासम्म सीमित पहुँचको सिफारिस

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

बेलायतले आप्रवासन नियन्त्रणसँगै देशका महत्वपूर्ण क्षेत्रमा देखिएको जनशक्ति अभाव पूरा गर्न विदेशी कामदारका लागि लक्षित भिसा नीति अघि बढाउने तयारी गरेको छ। यसअन्तर्गत माइग्रेशन एड्भाइजरी कमिटी (MAC) ले मध्यम सीप आवश्यक पर्ने २८ पेशालाई १८ महिनाका लागि Temporary Shortage List (TSL)मा राख्न सिफारिस गरेको छ।

MAC ले २३ जुलाई २०२६ मा सार्वजनिक गरेको अन्तिम प्रतिवेदनमा यो सिफारिस गरेको हो। तर यो अहिले नै लागू भएको नयाँ भिसा नियम भने होइन। MAC को सिफारिसमाथि बेलायत सरकारले अन्तिम निर्णय गर्नुपर्नेछ।



८२ पेशाबाट २८ मा सीमित

बेलायत सरकारले औद्योगिक रणनीति र महत्वपूर्ण पूर्वाधारका लागि आवश्यक हुन सक्ने मध्यम सीपका पेशाबारे MAC लाई समीक्षा गर्न दिएको थियो। पहिलो चरणमा ८२ पेशा छनोट गरिएका थिए।

तीमध्ये ४६ पेशाका लागि Jobs Plan अर्थात् बेलायती घरेलु जनशक्ति बढाउने योजना प्राप्त भएको थियो। MAC ले ती ४६ मध्ये २८ पेशालाई १८ महिनाको TSL पहुँच दिन सिफारिस गरेको छ। कुनै पनि पेशाका लागि तीन वर्षको पहुँच सिफारिस गरिएको छैन।

MAC का अनुसार ८२ पेशामा करिब ५५ लाख मानिस कार्यरत छन् र ती पेशाबाट औसतमा वार्षिक करिब १० हजार भिसा प्रयोग भएको देखिन्छ। २८ पेशामा करिब १३ लाख मानिस कार्यरत छन् र पछिल्ला तीन आर्थिक वर्षको औसतमा ती पेशाबाट वार्षिक करिब ४ हजार विदेशी कामदारलाई भिसा दिइएको थियो।

कुन–कुन पेशा सूचीमा छन्?

MAC ले १८ महिनाको TSL पहुँचका लागि सिफारिस गरेका २८ पेशा यस्ता छन् :

* इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स टेक्निसियन
* इन्जिनियरिङ टेक्निसियन
* शीट मेटल वर्कर
* मेटल मेसिनिङ सेटर्स तथा अपरेटर
* मेटल वर्किङ उत्पादन तथा मर्मतसम्बन्धी फिटर्स
* वेल्डिङसम्बन्धी काम
* जहाज निर्माण तथा मर्मत
* प्लानिङ, प्रोसेस तथा प्रोडक्सन टेक्निसियन
* मेटल प्लेट वर्कर, स्मिथ तथा मोल्डर
* ओभरहेड लाइन वर्कर
* डाटाबेस एडमिनिस्ट्रेटर तथा वेब कन्टेन्ट टेक्निसियन
* डाटा एनालिस्ट
* टेलिकम तथा नेटवर्क इन्स्टलर/मर्मतकर्ता
* भवन तथा सिभिल इन्जिनियरिङ टेक्निसियन
* जहाज तथा होभरक्राफ्ट अफिसर
* पाइप फिट्टर
* इलेक्ट्रिसियन तथा इलेक्ट्रिकल फिट्टर
* ब्रिकलेयर
* रूफर, रूफ टायलर तथा स्लेटर
* प्लम्बर तथा हिटिङ/भेन्टिलेसन इन्स्टलर
* कार्पेन्टर तथा जोइनर
* बिल्डिङ इनभेलप विशेषज्ञ तथा कर्टेन वाल इन्स्टलर
* प्लास्टरर
* फ्लोर तथा वाल टाइलर
* पेन्टर तथा डेकोरेटर
* निर्माण तथा भवनसम्बन्धी सुपरभाइजर
* केमिकल तथा सम्बन्धित प्रोसेस अपरेटर
* CAD, ड्रइङ तथा आर्किटेक्चरल टेक्निसियन।

यी पेशाहरू मुख्यतः निर्माण, उन्नत उत्पादन, स्वच्छ ऊर्जा, डिजिटल तथा प्रविधि, महत्वपूर्ण पूर्वाधार र अन्य प्राथमिकताप्राप्त क्षेत्रसँग सम्बन्धित छन्।

किन १८ महिनामात्र?

MAC ले विदेशी कामदारको पहुँचलाई स्थायी समाधानका रूपमा प्रयोग गर्न नहुने बताएको छ। त्यसैले रोजगारदाताले बेलायती नागरिकलाई तालिम दिने, घरेलु जनशक्ति बढाउने र सीप विकासमा लगानी गर्ने योजना प्रस्तुत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो।

MAC ले मूल्यांकन गर्दा चार मुख्य विषय हेरेको थियो—पेशामा अहिले वा निकट भविष्यमा श्रमिक अभाव छ कि छैन, घरेलु जनशक्ति बढाउने विश्वसनीय योजना छ कि छैन, कामदारको शोषण तथा दुरुपयोगको जोखिम कसरी व्यवस्थापन हुन्छ र त्यस पेशाका लागि विदेशी कामदारलाई भिसा दिनु उपयुक्त छ कि छैन।

१८ पेशालाई किन हटाइयो?

Jobs Plan प्राप्त भएका ४६ मध्ये १८ पेशालाई TSL मा नराख्न सिफारिस गरिएको छ।

तीमध्ये ७ पेशामा वास्तविक वा निकट भविष्यमा श्रमिक अभाव नदेखिएको, ७ पेशाको घरेलु जनशक्ति बढाउने योजना पर्याप्त विश्वसनीय नभएको र २ पेशा TSL अन्तर्गत राख्न उपयुक्त नभएको MAC को निष्कर्ष छ।

TSL मा नराखिएका पेशामा प्रयोगशाला टेक्निसियन, क्वालिटी एस्योरेन्स टेक्निसियन, मार्केटिङ एसोसिएट प्रोफेसनल, एयरक्राफ्ट मेन्टेनेन्स, एयर-कन्डिसनिङ तथा रेफ्रिजरेसन इन्स्टलर, लजिस्टिक्स म्यानेजर, वित्त तथा लेखासम्बन्धी टेक्निसियन र सुरक्षा प्रणाली इन्स्टलरलगायत छन्।

नर्तक र संगीतकारका लागि छुट्टै व्यवस्था

डान्सर तथा कोरियोग्राफर र संगीतकारलाई TSL मा राख्नुको सट्टा उनीहरूभित्रका उच्च सीप भएका निश्चित भूमिकालाई Skilled Worker रुटमा समेट्न MAC ले सिफारिस गरेको छ।

अन्तर्राष्ट्रिय स्तरका बेलायती ब्याले वा कन्टेम्पोरेरी डान्स कम्पनीले माग गर्ने स्तरका दक्ष नर्तक तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त बेलायती अर्केस्ट्राको स्तर पूरा गर्ने दक्ष संगीतकारलाई यसमा समेट्ने प्रस्ताव छ।

नेपाली कामदारका लागि के अर्थ?

यो सिफारिस कार्यान्वयन भएमा बेलायत जान खोज्ने नेपाली कामदारका लागि आफ्नो पेशा TSL मा छ कि छैन भन्ने कुरा महत्वपूर्ण बन्नेछ । विशेषगरी निर्माण, इन्जिनियरिङ, इलेक्ट्रिकल, डिजिटल प्रविधि, डाटा, टेलिकम तथा विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने नेपालीले आफ्नो पेशाको SOC कोड, रोजगारदाताको प्रायोजन र लागू हुने तलबसम्बन्धी मापदण्ड समेत हेर्नुपर्नेछ।

तर २८ पेशाको सूची सार्वजनिक हुँदैमा ती सबै पेशाका लागि नयाँ भिसा तुरुन्त खुलिसकेको अर्थ हुँदैन । यो MAC को सिफारिस हो र अन्तिम निर्णय बेलायत सरकार तथा लागू हुने Immigration Rules मा निर्भर हुनेछ। हालको नियममा रहेको अन्तरिम TSL का लागि Certificate of Sponsorship जारी हुने समयसम्बन्धी सीमा ३१ डिसेम्बर २०२६ सम्म तोकिएको छ।

Skilled Worker भिसाको मुख्य नियम अहिले के छ?

२२ जुलाई २०२५ देखि Skilled Worker भिसाका लागि सामान्यतः काम RQF Level 6 अर्थात् डिग्री तहको सीपस्तरको हुनुपर्ने व्यवस्था लागू छ। यसको अपवादका रूपमा Immigration Salary List वा Temporary Shortage List मा रहेका केही मध्यम–सीपका पेशामा पनि भिसा आवेदन दिन सकिन्छ।

हाल सामान्य Skilled Worker भिसाका लागि न्यूनतम तलब वार्षिक £41,700 वा सम्बन्धित पेशाको ‘going rate’ मध्ये जुन बढी हुन्छ, त्यो पूरा गर्नुपर्ने हुन्छ। केही विशेष अवस्थामा फरक तलब नियम लागू हुन सक्छन्।

त्यस्तै, ८ जनवरी २०२६ देखि नयाँ Skilled Worker आवेदकका लागि अंग्रेजी भाषा आवश्यकता B2 स्तर कायम गरिएको छ। पहिले नै Skilled Worker भएर B1 नियमअन्तर्गत रहेका केही व्यक्तिका लागि भने संक्रमणकालीन व्यवस्था छ।

बेलायतको नयाँ नीति कता जाँदैछ?

बेलायतले Skilled Worker रुटमा सामान्य सीपस्तरलाई RQF Level 6 अर्थात् डिग्री तहमा पुर्‍याएपछि RQF Level 3–5 का केही आवश्यक पेशाका लागि सीमित पहुँच दिन TSL अघि सारेको हो। यसको मुख्य उद्देश्य विदेशी कामदारमार्फत तत्कालीन जनशक्ति अभाव पूर्ति गर्दै दीर्घकालमा बेलायती घरेलु जनशक्तिको तालिम र सीप विकास बढाउनु हो।

MAC ले आगामी दिनमा तीन वर्षमा पूर्ण समीक्षा गर्ने र १८ महिनाको पहुँच समाप्त हुनुअघि लक्षित पेशाहरूको Jobs Plan मा भएको प्रगति हेर्न छोटो समीक्षा गर्ने प्रस्ताव गरेको छ।

यसर्थ, बेलायतमा रोजगारी खोजिरहेका नेपालीका लागि अब ‘भिसा खुल्छ कि खुल्दैन’ भन्दा पनि आफ्नो पेशा बेलायतको प्राथमिकतामा पर्छ कि पर्दैन, रोजगारदाताले प्रायोजन गर्छ कि गर्दैन र नयाँ नियममा उक्त पेशा कस्तो अवस्थामा राखिन्छ भन्ने विषय निर्णायक हुने देखिन्छ।