कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

  • प्रकाशित मिति : 2020-10-13
  • nepaltale.com

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछाडि हटेको छ ।

मङ्‍गलबार बिहान बसेको नेता नेपाल पक्षधर सांसद र केन्द्रबाट खटिएर गएका नीरज आचार्यसहितको छलफलबाट अविश्‍वासको प्रस्तावबाट पछि हट्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेता नेपाल समूहसँग मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिलेको बताइएको छ । प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय रिक्त थियो । नेपालनिकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए ।

अर्को मन्त्री नियुक्त नगरी आफैं मातहत राखेपछि विवाद चर्किएको थियो । त्यही मन्त्रालय पूर्ति गर्ने कि, अरू पनि पुनर्गठन गर्ने भन्‍ने समझदारी नजुटिसकेको र केन्द्रबाट निर्देशनको प्रतीक्षामा रहेको एक नेताले बताए ।

नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि आज बोलाइएको संसदीय दलको बैठक के हुने भन्ने अन्योल देखिएको छ । नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्तापछि हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेलको समूह एकछिन भेला भएर हिँडेका छन् । कँडेल समूहका आठ नेताले अविश्वासको प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङले प्रदेशका दुई मन्त्रीलाई फोन गरि विवाद नगर्न निर्देशन दिएका थिए ।