काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको दशैंको शुभकामना सन्देशमा कालापानी क्षेत्रबिनाको नक्सा भएको निशान छाप प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
शुक्रबार फुलपातीको दिन प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट शुभकामना लेखिएको तस्बिर सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छेउ निशान छाप राखेका छन्। त्यसको मुनि लेखिएको छ, २०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
यही कुरा अंग्रेजीमा लेखिएको अर्को पनि ट्वीट उनले गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको शुभकामना सन्देशमा लिम्पियाधुरासहितको नक्सा नहुनुलाई सामान्य मान्न नसकिने बताएका छन्।
‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू? गम्भीर विमती दर्ज होस्’ उनले प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिन सट राख्दै ट्वीटरमा लेखेका छन्,‘ देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने भारतीय जासूसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेको भोलि पल्ट नेपालको नक्साबाट चुच्चो गायव भएको त होइन भन्दै प्रश्न गरिरहेका छन् ।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि सामाजिक सञ्जालमा यो आकस्मि सञ्जाल कि नियोजित भूल भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्,यो आकस्मिक संयोग हो या नियोजित भूल( हिजो ूरू प्रमुख नयाँ दिल्ली फर्केलगत्तै प्रधानमन्त्रीद्वारा देशवासीका नाममा आज जारी दशैँको शुभकामना सन्देशमा प्रयुक्त सरकारी लोगोबाट भारतीय अतिक्रमणमा परेको नेपाली भूभाग सँलग्न नयाँ नक्सा कसरी गायव भयो ।’