प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : नेकपा प्रवक्ता श्रेष्ठ

‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ’

  • प्रकाशित मिति : २०७७ कार्तिक ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।

यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् ।



पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्वजानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।

आफ्नो व्यक्तिगत विचार भन्दै श्रेष्ठले लेखेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’

नेता श्रेष्ठ अगाडि लेख्छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका  रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । …यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’