हतियार तथा विस्फोटक पदार्थसहित विप्लव नेकपाका कम्पनी कमिसार र साधारण सदस्य पक्राउ

  • प्रकाशित मिति : २०७७ कार्तिक १३, बिहीबार
  • nepaltale.com

विराटनगर । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कम्पनी कमिसारसहित मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट भरुवा बन्दु, विस्फोटक पदार्थ जिलेटिन, सुतली बम, सकेट बम लगायत हातहतियार र विस्फोटक पदार्थ समेत बरामद प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र इलामको चुलाचुली गाउँपालिका–६ घर भएका १९ वर्षीय विज्ञान राई (सनम) छन् ।

प्रहरीका अनुसार पक्राउ परेका २ जनामध्ये प्रतिक भनिने काशिनाथ घिमिरे प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड (मेची–कोशी ब्यूरो)अन्तर्गत चौथो कम्पनीका कमिसार हुन् । घिमिरे सप्तरी जिल्लाका पूर्व सेक्रेटरी समेत हुन् ।

यस्तै, १८ वर्षीय सनम भनिने विज्ञान राई भने प्रतिबन्धित नेकपाका साधारण सदस्य भएका खुलेको छ ।

प्रहरीले बुधबार उनीहरुलाई मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।