एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।

बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुको कारण, गत चैत ५ र ६ गते काठमाडौंमा भएको माधव नेपाल समूहको भेलामा सहभागी हुनुको कारण र जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई सूर्य चिन्हमा मतदान नगर्नुको कारण माग गर्दै उनीहरुसँग स्पष्टीकरण सोधेको थियो ।