ओली-नेपाल द्वन्द चर्कियो, पार्टी एकता संकटमा

  • Published Date : 2021-07-15
  • nepaltale.com

काठमाडौं। बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन । दोस्रो तहका नेताहरुले पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उदघोष गरे ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ । आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा नेपाल सहयोगी भए । संविधानको धारा उल्लेख नगरी देउवालाई शपथ गराउन खोजेको भन्दै राष्ट्रिपति कार्यालयमा विरोध जनाए र सबैभन्दा पहिले देउवालाई बधाई दिँदै खुशी प्रकट गरे ।



त्यसो त नेपाल स्वयं पनि देउवाको शपथ कार्यक्रममा जाने कि नजाने दोधारमै थिएन । तर, ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूलाई होच्याएको भन्दै नेपाल शपथ समारोहमा जाने निचोडमा पुगेको उनको सचिवालयले जनाएको छ ।

कार्यदलले १० बुँदे सहमति गरे पनि ओली र नेपालबीचको बढ्दो द्वन्द एकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्, पार्टी एकतामा सक्रिय दोस्रो तहका नेताहरु । समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।