आजदेखि १८ वर्ष माथिका सबैलाई जोनसन एण्ड जोनसन खोप दिन शुरु

  • प्रकाशित मिति : २०७८ श्रावण ७, बिहीबार
  • nepaltale.com

काठमाडौं। काठमाण्डौंमा आजदेखि १८ वर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिन शुरु गरिएको छ। काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोपको उपलब्धतका आधारमा १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँले आजदेखि १८ वर्षमाथिका सबैलाई तोकिएका विभिन्न खोप केन्द्रबाट खोप उपलब्ध गराएको पनि बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसन खोप एक डोज मात्र लगाए पुग्ने जनाएको छ ।

यसअघि साउन ४ गतेदेखि सञ्चालित जोनसन एण्ड जोनसन खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक , नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाउन शुरु गरिएको थियो ।

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप गत असार २८ गते नेपाल ल्याइएको थियो ।