खोप केन्द्र बाटै कोरोना झन् फैलियो !

  • Published Date : 2021-07-24
  • nepaltale.com

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) परिसरमा मानिसहरूको भीडभाड देख्दा जो कोहीलाई लाग्न सक्छ–यहाँ कुनै जात्रापर्व छ। तर, यहाँ देखिने भीड कोरोना खोपको प्रमाणीकरण गर्नेहरुको हो।

कोरोना महामारीले संसार नै आक्रान्त पारिरहेका बेलामा पश्चिममा मुलुकदेखि खाडी मुलुकहरुसम्मले खोप लगाएको प्रमाणीकरण कागजात भएपछि मात्र प्रवेश गर्न दिने नियम लगाएका छन्।



यही नियमका कारण हरेक दिन हजारौंको संख्यामा विदेशी तथा नेपाली नागरिकको भीड टेकु परिसरमा लाग्ने गरेको छ।

देशका विभिन्न भेगबाट आएका नागरिकहरू रातको समयमा पनि अस्पतालमा भोकै लाइन बस्ने गरेका छन्।

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी पटक–पटक स्वास्थ्य मन्त्रालयले दिएको छ। तर त्यहाँ पुग्दा नेपालमा कोरोना संक्रमण छ र? भन्ने लाग्छ।

त्यही भीडमा भेटिए दाङका ४१ वर्षीय राम थारू।

उनी खोप लिन र प्रमाणीकरण गर्न दुई दिन देखि अस्पतालमा लाइनमा छन्। तर पालो पाउन सकेका छैनन्।

साउदी अरब जान लागेका उनलाई कोरोनाभन्दा पनि घरमा छोराछोरी र श्रीमती भोकै हुन्छन् कि भन्ने डर छ।

उनी खोप लगाउन भनेरै दाङदेखि काठमाडौं आए। सरकारले खाडी मूलुक जाने व्यक्तिहरुलाई पनि जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएपछि हतारिँदै आएको उनी सुनाउँछन्।

उनले सजिलैसँग खोप लगाउन पाए पनि प्रमाणीकरण गर्न धौ धौ प¥यो। पहिलो दिन बिहान ४ बजे नै लाइन बस्न पुग्दा पनि उनले अस्पतालले बाँडेको कुपन पाउन सकेनन्।

‘दोस्रो दिन बल्ल कुपन पाएँ, तर छिटै पालो आएन।‘खाना पनि नखाई लाइनमा कुरेर बसेँ। पानी बहेक केही नखाई बस्दा पनि पालो आएन। तीन टाइमको खाना राति एकै पटक खाएँ,’ उनले भने।

उनी मात्र होइन खचाखच भरिएको अस्पतालको प्रांगणमा अधिकाशं युवा वर्ग थिए। होटेल वा अस्पताल प्राङगणमै रात बिताएर प्रमाणीकरण गर्न लाइनमा उभिएका छन्।

‘‘के गर्नु काम नगरी खान पाइन्नँ। देशमा रोजगार पाइएन। रोजगार छैन भनेर बस्न पेटले मान्दैन,’ उनले भने।

अमेरिकी खोप लगाउनेहरु धेरैजसो विदेश जानेहरु नै छन्। लाखौं मानिसहरुले यो खोप लगाएर प्रमाणीकरण गर्न एकैचोटी आउँदा भीड बडेको बताउँछन् अस्पतालका प्रशासन प्रमुख नवराज गौतम।

‘हामीले मापदण्ड पालना गर्नका लागि पटक पटक भनिरहेका छौं। त्यस्तै, त्यहाँ व्यवस्थापन गर्न नेपाल प्रहरीसँग पनि सम्झौता गरेका छौं। तर मानिसहरु आफैँ अटेर गरी भीड गरिरहेका छन,’ उनले भने।

अस्पतालमा भीड नियन्त्रण गर्न खटाइएका नेपाल प्रहरीले पनि कसैगरी नियन्त्रण गर्न सकिरहेका छैनन्।

‘यति धेरै भीड छ विदेश जानेहरुको, कोरोना संक्रमण हुन्छ भन्ने डर छ। तर उनीहरुलाई जति सम्झाउँदा पनि नमानेपछि हामीले यतिकै छाडेका हौं,’ हवलदार विष्णु अधिकारीले बताए।

अस्पतालले ४८ घण्टाभित्र उडान भएका व्यक्तिहरुको प्राथमिकता अनुसार प्रमाणीकरण गरिरहेको छ भने हतार नभएका लाई कुपन दिएर काम गरिरहेको छ।

‘टाढाबाट आउने भएका कारण मानिसहरु एकैपटक काम सकाएर जाने विचारमा लाइन बस्छन्। आवश्यक परेको समयमा आउँदा हामीले सहजरुपमा काम गर्न सक्थ्यौं,’ अस्पतालका निर्देशक अनुप बाँस्तोलाले भने।

विदेशमा पुगेपछि मात्र प्रमाणीकरण गरेको कागजात देखाए पुग्नेमा म्यानपावर कम्पनी, एम्बेसीहरुले पनि यसको माग गर्न थालेपछि भीड बढ्न थालेको बताउँछन् बाँस्तोला।

खोप केन्द्रबाट नै कोरोना संक्रमण भइरहेको भन्दै खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

खोप केन्द्रमा खोप लगाउन पुगेकाहरु संक्रमित भई अस्पताल आउनेक्रम बढेकाले सावधानी अपनाउन डा। बाँस्तोला सुझाव दिन्छन्।

स्वास्थ्य सुरक्षा नअपनाउँदा खोप लगाएको एक हप्ताभित्रै संक्रमित भएर अस्पताल आउने बढेको उनले जानकारी दिए।

‘अहिले खोप केन्द्र भीडभाड हुँदा त्यहीबाट कोरोना फैलिरहेको छ। कोरोना खोप लगाएको ५–६ दिनमा कोरोना लक्षण लिएर मानिसहरू आइरहेका छन्,’ डा बाँस्तोलाले भने, ‘ केही मानिसलाई त आइसियूमा राखेर उपचार गरिराख्नुपरेको छ।’

विश्व स्वास्थ्य संगठनले खोप केन्द्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशिका बनाएको भए पनि नेपालमा त्यसको कार्यान्वयन हुन सकेको छैन।

अहिले सरकारले खोप केन्द्रलाई राम्रो सँग व्यवस्थापन गर्न नसकेको विषयलाई लिएर व्यापक आलोचना भइरहेको छ।

भीड बढ्न थालेपछि मन्त्रालयले निजामति कर्मचारी अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रमाणीकरणका लागि केन्द्र तोकिएको छ।