नेपालमा अहिलेसम्म कोरोना खोपका कारण कसैको मृत्यु भएको छैन : अनुसन्धान

  • Published Date : 2021-07-24
  • nepaltale.com

काठमाडौं। नेपालमा हाल कोरोना विरुद्धको कोभिशिल्ड, भेरोसिल र जोनसन एण्ड जोनसनको खोप प्रयोग भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जोनसनको खोप बाहेक हालसम्म ४५ लाख ३ हजार २२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । कोभिशिल्ड २२ लाख ८८ हजार ७९२ जनाले लगाएका छन् जसमध्ये करीब १४ लाख जनाले दोस्रो मात्रा लगाउन बाँकी छ । यस्तै भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले लगाएकोमा ८ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन पर्नेछ ।

खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटनाको अनुसन्धान गर्न बनेको समिति(एइएफआई)का अध्यक्ष डा.धनराज अर्यालले ४५ हजारभन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप पाइसक्दा अहिलेसम्म खोप लगाएकै कारण कसैको पनि मृत्यु नभएको जानकारी दिनुभएको छ । उहाँले खोप लगाएपछि भएका अवाञ्छित घटनाको अनुसन्धान गर्दा पहिलेबाट स्वास्थ्यमा अरु कुनै समस्या देखिएको र मृत्युको कारणमा खोप कारक नदेखिएको पाइएको बताउनुभयो।



‘कोभिशिल्ड लगाएका २- ३ जनाको मृत्यु भएको भन्ने रिपोर्टिङ भएको थियो त्यसमा अनुसन्धान गर्दा खोपका कारण नभएको पुष्टि भइसकेको छ । यस्तै भेरोसिलका बारेमा एउटा पनि रिपोर्टिङ भएको छैन ।’ अर्यालले भन्नुभयो, ‘जोनसनको खोपको कुरा आएको छ त्यसबारे अनुसन्धान सुरु भइसकेको छ , रिपोर्ट आएपछि मात्रै त्यसबारे भन्न सकिन्छ । ’

हिजो धादिङको नीलकण्ठ नगरपालिकामा जोन्सनको खोप लगाएका एक वृद्धको मृत्यु भएको थियो । खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको घटना बाहिर आएको थियो । यस घटनाबारे अनुसन्धान थालिसकेको अर्यालले बताउनुभयो ।