गोपालमानले छोडे सभापतिको दाबी, जनाए देउवालाई समर्थन

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • नेपाल टेल

काठमाडौं। नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा समूहकै नेता श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका छन् । शनिबार (आज) बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।



श्रेष्ठले भने, ‘हामीले जित्नु पर्छ । हामी जित्ने कुरामा म जहाँ बसेर पनि काम गर्न तयार छु ।’ सभापतिमा देउवालाई समर्थन जनाउने भएपछि अब केमा उम्मेदवारी दिने हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले छलफलमा रहेको जवाफ दिए ।

उनले भने, ‘साथीहरूसँग छलफल र परामर्शमा छु । हाम्रो टीमलाई कसरी जिताउने भन्ने मुख्य कुरा हो । हाम्रो टीम जित्ने कुरामा को नेता कहाँ रहन्छ भन्ने कुरा गौण हो । ‘-रातोपाटी