मोती पाइन सक्छ पोखराका तालमा

  • प्रकाशित मिति : २०८० श्रावण २९, सोमबार
  • nepaltale.com

तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले जानकारी दिए ।

अनुसन्धानको सफलतासँगै अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपीको खेती गर्नसक्ने पुष्टि भएको उनले बताए । प्रमुख हुसेनले मोती गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुने गरेको जानकारी दिए ।

‘सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्दछ,’ उनले भने, ‘हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।’

विगतमा मोती उत्पादन गर्ने सिपी केबल समुन्द्रमा मात्रै हुने भन्ने भनाइलाई अनुसन्धानले हाम्रा आसपासका जलाशयमा नै पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिनसक्ने देखिएको प्रमुख हुसेनले बताए ।

नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने बताउँदै उनले तालै तालको सहर पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने जानकारी गराए ।

प्रमुख हुसेनका अनुसार हरियो तथा मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रो हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त ताल भएको छ ।

‘सिपीको बाह्य आवरणबाट इमेज विड (मूर्ति छायाँ) र गोलाकार विड (गोलो मोती) तयार गर्न सकिन्छ,’ उनले भने, ‘करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।’ माछापालनसँगै सिपी पालन पनि गर्न सकिने जानकारी दिँदै प्रमुख हुसेनले ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिन्छ । विशेषतः थारु समुदायमा यसको मासुको प्रचलन बढी छ ।

एक हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुने उनले जानकारी गराउनुभयो । सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ । करिब १२ महिनादेखि १८ महिनासम्मको अन्तरालमा मोती तयार हुन्छ ।

प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीको मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको एक वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।

यो अनुसन्धानले हाम्रा पहाडी तथा तराईका भूभागका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उल्लेख गर्दै उनले यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने सम्भावना देखिएको बताए ।

पछिल्ला समयमा भारत, बङ्गलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशहरूमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ ।

अनुसन्धानको सफलतासँगै सात तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिदै यहाँका बासिन्दाकोे आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुबनाथ अधिकारीले बताए ।

‘स्थानीयवासीलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ,’ उनले भने, ‘बर्सेनि विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेशमा निर्यात गर्न सकिने देखिएको छ ।’