४ अर्ब ९० करोड अनियमिततामा राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ

  • प्रकाशित मिति : २०८२ श्रावण २, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कर्णाली विकास बैङ्क अनियमितता प्रकरणमा सघाउ पुराउने राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ परेका छन् । अवस्था खराब रहेकै बैङ्कको अवस्था ठिक प्रतिवेदन बनाउने राष्ट्र बैङ्कका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैङ्क अनियमितता प्रकरणमा यसरी प्रतिवेदन बनाएका नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत पक्राउ परेका हुन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको बताइएको छ । यो बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा अनुसन्धान जारी छ ।



बैङ्क गम्भीर समस्यामा पुगिसकेको बेलामा अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप उनीमाथि छ ।
यसअघि नै सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।

कर्णाली विकास बैङ्कको अन्य बैङ्क खातामा रहेको रकम र बैङ्कको कोर बैङ्किङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैङ्कको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

यो बैङ्कमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेर ल्याएको थियो भने अर्का पूर्व अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिएको थियो। बैङ्क ठगीमा बैङ्कका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाह समेतको संलग्नताबारे गम्भीर अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।