लण्डनमा निधन भएका योमनको शव नेपाल पठाउन उठ्यो १५ हजार पाउण्ड

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन। गत मंगलबार लन्डनस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै १५ हजार पाउण्ड (करिब २८ लाख रुपियाँ) सहयोग जुटेको छ । सहयोग उठ्ने क्रम जारी छ।

स्वर्गीय चन्दका बुवा आमाको आग्रह बमोजिम उनको शव नेपाल पठाउन सहयोग संकलन तथा अनुगमन गर्न गठित समितिको निर्णय बमोजिम स्वर्गीय चन्दका फुपूका छोरा (भाइ) सुजन शाहको नाममा खोलिएको ‘गो फन्ड मी’ पेजमा शनिबार अपरान्हसम्म १४, ३०० पाउण्ड बढी जम्मा भइसकेको छ।



समितिको शनिबार बसेको बैठकले सोमबार (१७ नोभेम्वर) मध्य रातीदेखि सहयोग संकलन औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेको छ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको गत मंगलबार बिहान निधन भएको थियो।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए।

उनको शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनरको रिपोर्ट आएपछि उनका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ।